आजदेखि बाँफिकोटमा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन सुरू हुँदै

आजदेखि बाँफिकोटमा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन सुरू हुँदै

मुसीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भोलि फागुन २८ देखि वडा स्तरमा राष्ट्रिय परिचय–पत्र बनाउन विवरण संकलनको लागि अभियान सञ्चालन गरिने भएको छ ।

शुक्रबार बाँफिकोट गाउँपालिकाको कार्यालयमा बिवरण संकलन रुजु अधिकारी र वडाध्यक्षहरु सँग गरिएको अन्तरक्रिया कार्यक्रमबाट आजदेखि वडा स्तरमा उक्त अभियान सञ्चालन गरिने बताइएको छ ।

आज शनिबार बाँफिकोट गाउँपालिकाको ४ नं वडाबाट विवरण संकलन शुरू हुने र उक्त अभियान प्रत्येक वडामा १० देखि १५ दिनसम्म संचालन हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार अन्य वडाहरुमा पनि क्रमश अभियान सञ्चालन गरिने छ । ।

राष्ट्रिय परिचय पत्रमा वायोमेट्रिक विवरणहरु समेत संकलन हुने छ । नागरिकको तस्विरमार्फत चेहराको रेकर्डसँगै दशैं औलाको छाप डिजिटल मार्फत संग्रह गरिनेछ । यसका साथै परिचय पत्रमा आँखाको रेटिनाको तस्विर समेत संकलन गरेर राखिनेछ ।

कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका प्राबिधिक विपिन आचार्यले राष्ट्रिय परिचय पत्रको महत्व तथा विवरण संकलन प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले समग्रमा विवरण संकलन कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाका बारेमा कार्यक्रमका सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका सहभागिहरुले राष्ट्रिय परिचय पत्र, नागरिकता प्राप्ति तथा कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी जिज्ञासा राखेका थिए । जिज्ञासामा प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रट्याउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, बाँफिकोट गाउँपालिका उपाध्यक्ष मनकला पुन,  १० वटै वडाका वडा अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्का, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका प्राबिधिक विपिन आचार्य, सुरक्षा निकाय, दर्ता अधिकारी वडा सचिवहरू, पालिकाका शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

यसअघि फागुन १९ गतेबाट मुसीकोट नगरपालिकाको वडा नम्बर १ र ५ बाट विवरण संकलन अभियान सुरु भएको जनाइएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाउन वा राहदान बनाउन आएका सेवाग्राहीहरुलाई लक्षित गरी दुई वटा स्टेशन सञ्चालन गरी कामकाज चलाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार