रुकुम पश्चिममा राष्ट्रिय कृषि गणनाको तयारी, किन गरिन्छ कृषि गणना ?

रुकुम पश्चिममा राष्ट्रिय कृषि गणनाको तयारी, किन गरिन्छ कृषि गणना ?

फाइल तस्वीर

मुसीकोट । रुकुम पश्चिममा राष्ट्रिय कृषि गणनाका लागि जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको छ । चैत १ गते जिल्लाको सदरमुकाममा स्थित तथ्याङ्क कार्यालयसँगै कृषि गणना कार्यालय स्थापना गरिएको हो ।

कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधारु भन्ने नाराका साथ केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखदेखि राष्ट्रिय कृषि गणना गर्न लागेको छ ।

राष्ट्रिय कृषिगणनाका लागि सुपरीवेक्षक र गणकको भर्ना गर्ने प्रक्रिया चलिरहेको छ ।

सुपरीवेक्षक र गणकका लागी चैत ७ गते भित्रमा अनलाइन फर्म भरिसक्नुपर्ने अथवा आवश्यक कागजात सहित जिल्ला कृषि गणना कार्यालयमा गएर फर्म भर्न सकिने जिल्ला तथ्याङ्क कार्यालयका सहलेखापाल डिल्ली रमण डिसीले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिनेछन् । उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षक खटिने भएका छन् ।

गणनामा के के गनिन्छन् ?

मुख्य कृषक तथा मुख्य उत्पादन, कृषि चलनको मुख्य उत्पादन, उत्पादनको मुख्य उपयोग, कृषि चलनको आर्थिक क्रियाकलाप, कृषि चलनको पारिवारिक विवरण (नाम, लिङ्ग, उमेर, शैक्षिक स्थिति, मुख्य पेशा, कृषि तालिम, कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, कृषिका लागि दिइएको समय), संलग्न कामदारको सङ्ख्या, महिलाको नाममा हरेको कृषि जग्गा र क्षेत्रफल, सिँचाइको स्रोतको बारेमा गणनाको क्रममा तथ्याङ्क लिइनेछ।

यस्तै जग्गाको उपभोग, अस्थायी बालीको क्षेत्रफल, मुख्य बाली उत्पादन, स्थायी बाली क्षेत्रफल र सङ्ख्या, चौपाया तथा पक्षीको विवरण, कृषि औजार र साधन तथा स्वामित्व, गैरआवासीय भवनको प्रयोग र स्वामित्व, वन, कृषि ऋण, बिमा, अनुदान, खाद्यान्न स्थिति, अपुग खाद्यान्नको व्यवस्थापन, कृषिमा वातावरणको प्रभाव लगायतको जानकारी पनि सुपरीवेक्षक र गणकले लिनेछन्।

कसरी गरिन्छ गणना ?

पहाडी र हिमाली क्षेत्रमा कम्तीमा चार आना क्षेत्रफलमा र तराईमा आठ धुर क्षेत्रफलमा कृषि कार्य गरिएको हुनुपर्ने, गाई, भैँसी, गोरु जस्ता पशुमध्ये कम्तीमा एउटा पालिएको हुनुपर्ने, भेडा, बाख्रा, सुँगुर, बङ्गुर जस्ता पशुमध्ये कुनै कम्तीमा पाँच ओटा पालिएको हुनुपर्ने र कुखुरा, हाँस, लगायत कम्तीमा २० वटा पक्षी पालन गरिएको हुनुपर्छ।​

तोकिएकामध्ये कुनै एउटा सर्त पूरा भएको अवस्थामा मात्रै कृषक परिवारलाई गणनाका लागि योग्य मानिने छ। जनगणनामा जस्तो प्रत्येक कृषकको घरको गणना यसमा हुने छैन। अधिकृत पौडेलका अनुसार जिल्लाको क्षेत्रफल, जनसङ्ख्या, भौगोलिक क्षेत्र लगायतका आधारमा सर्वेक्षणका लागि नमुना केन्द्रहरू तोकिएका छन्। सोही केन्द्रमा पर्ने कृषक परिवारको सङ्ख्या तोकिएको सूत्र र मापदण्डको आधारमा निकालिनेछ।

‘जनगणनामा जस्तै प्रत्येक कृषकको गणना यसमा हुँदैन। यो स्याम्पल सर्वेको रूपमा हुन्छ। केही निश्चित केन्द्र तोकेर त्यहीँ ठाउँको प्रतिनिधिमूलक तथ्याङ्क लिने हो,’ अधिकृत पौडेल भन्छन्, ‘जस्तो की पर्वतका सातवटा स्थानीय तहमा एक सय एक ओटा केन्द्र तोकिएका छन्। सूत्रका आधारमा एउटा केन्द्रमा ३० जनासम्म कृषक परिवार पर्न सक्छन्। तिनीहरूको नमुना गणना गर्ने काम हुन्छ।’​

कृषक र गणकको भूमिका के ?

गणकहरूले सोधेका प्रश्नावलीहरूको सत्य तथ्य जवाफ दिनुपर्ने नागरिकको कर्तव्य हुने बताउँदै उनले सही तथ्याङ्क नआएमा त्यसले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका योजनामा प्रभाव पार्ने भएकाले सोही ठाउँका कृषकहरू योजनाको मारमा पर्ने उल्लेख गरे।

अहिले आएको तथ्याङ्ककै आधारमा राज्यले कृषि नीति, योजना तथा कार्यक्रमहरू तयार पर्ने छ। योजनाको आवश्यकता र निर्धारण नै कृषि गणनाको तथ्याङ्कमा आधारित हुने भएकाले आफ्नो कृषि कर्मको बारेमा सत्य तथ्य कुरा बताउनुपर्ने छ।

जनगणनाको तुलनामा कृषि गणना प्राविधिक हुने भएकाले सुपरीवेक्षक र गणकले पनि यसमा विशेष ध्यान दिनुपर्ने पौडेलको भनाइ छ।

यस बाहेक स्थानीय तहसँगको समन्वयमा सम्बन्धित स्थानीय तहमा नै पुगेर सरोकारवाला पक्षसँग संयुक्त गोष्ठीको आयोजना गरेर कृषक र अन्य निकायलाई पनि चनाखो बनाउने तयारी गणना कार्यालयले गर्न सक्नेछन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार