मुसिकोट । स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीको दरखास्त फारम लिने समय आज सकिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार दरखास्त दिनको अन्तिमदिन आज शुक्रबार बेलुका ५ बजेसम्म २०१० जनाको आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ६७७ जना म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो।
प्रहरी निरिक्षक शर्माका अनुसार म्यादि प्रहरीमा भर्नाको लागि दरखास्त दिनेहरुमा ५०६ जना महिला रहेका छन् भने १ हजार ५०४ जना पुरुष रहेका छन् । चैत ६ गतेबाट लिईएको दरखास्त आज शुक्रबार बेलुका ५ बजेबाट बन्द भएको जनाइएको छ ।
प्रहरी निरिक्षक शर्माका अनुसार चैत १५ गतेबाट भर्ना छनौट सुरु गरिने छ । चैत २२ गते अन्तिम नजिता प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो।
म्यादी प्रहरी छनौटका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । यसका साथै नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।
म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।
म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरिदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरूको बीमालगायतका अन्य सुविधा पनि हुनेछ।