सञ्चारिका समूह नेपालले गत वर्षको ‘स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिमकी पत्रकार हिरा परियारलाई प्रदान गरेको छ ।
समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ रुकुम शाखा सचिब एवं ग्यालेक्सी टेलिभिजनमा कार्यरत पत्रकार परियार विगत ६ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ प्रेस चौतारी रुकुम पश्चिमको अध्यक्ष हुनुहुन्छ ।
यस्तै सञ्चारिका समूह नेपालले गत वर्षको ‘सञ्चारिका समानता पुरस्कार’ कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ । समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार पुरस्कार प्रदान गरे ।
कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानुले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
२०७७ भदौ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित उक्त फिचर कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण अस्पताल पुग्न नसक्दा ज्यान गुमाउन बाध्य गर्भवती तथा सुत्केरी महिलाका विषयमा केन्द्रित थियो ।
यस्तै मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’बाट सम्मानित भएका छन् । यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छन् ।
यस्तै ‘सञ्चारिका समानता पुरस्कार २०७६’ भने मुना कुँवरलाई प्रदान गरेको छ ।