विनय रावलले खिचेको फोटो सर्वोत्कृष्ट, नगद ५० हजार पुरस्कार

विनय रावलले खिचेको फोटो सर्वोत्कृष्ट, नगद ५० हजार पुरस्कार

पुरस्कार ग्रहण गर्दै फोटोग्राफर विनय रावल । फोटो शिलापत्र

पोहोर सालको कुरा हो । २३ वर्षीय वाइल्डलाइफ फोटोग्राफर विनय रावल साथीभाइसँग पौडी खेल्न गाउँको एक स्थानीय पोखरी गएका थिए । रुकुमको सल्यगाउँको सो पोखरीमा उनीहरू गर्मीमा सधैँ पौडी खेल्ने गर्थे । तर, त्यस दिन नुहाउन जाँदा पोखरीमा एउटा अनौठो सर्प टाउको निकालेर घाम तापिरहेको उनीहरूले देखे ।

सर्प देखेर सबै जनाको होसहवास उड्यो । तर, विनय भने हतारहतार फर्किएर कोठामा गए र क्यामेरा लिएर आए । ‘अनौठो कुराचाहिँ म क्यामेरा लिएर आउँदा पनि त्यो सर्प त्यसरी नै घाम तापिरहेको रहेछ । अनि क्लिक गरेँ,’ सर्पको फोटो खिच्दाको परिवेश स्मरण गर्दै उनी भन्छन् ।

जिब्रो निकालेर घाम तापिरेहेको दृश्य उनको क्यामेराले कागतालीले कैद गर्‍यो ।

फोटो खिचेर भ्याइसकेपछि उनीहरूले त्यस सर्पलाई रेस्क्यु गरेर जंगलमा अवतरण गराए । त्यसपछि उनीहरू सबै जनाले नुहाए ।

पछि खोज्दै जाँदा थाहा भयो, त्यो सर्प पहाडी भेगमा मात्रै पाइने हिमालयन केलब्याक जातको सर्प रहेछ । त्यो सर्प पानीकै वरिपरि बस्ने, भ्यागुताहरू खाने खालको रहेछ । त्यही सर्पकै कारण आज उनले ५० हजार नगद पुरस्कार जितेका छन् । शिलापत्रद्वारा आयोजित नेपाल बिम्ब फोटोग्राफीअन्तर्गत उत्कृष्ट वाइल्डलाइफ फोटोग्राफीमा उनको फोटो सर्वोत्कृष्ट भएको हो ।

विगत ४ वर्षदेखि वाइल्डलाइफ फोटोग्राफी गरिरहेका रावल यस्ता पुरस्कारले मनोवैज्ञानिक रूपमा हौसला बढाएको बताउँछन् ।

वाइल्डलाइफअन्तर्गत हालसम्म उनीसँग १० हजारभन्दा धेरै फोटो संकलन भइसकेको उनको दाबी छ । रावल हाल चितवन बसेर फोटो खिच्ने काम गर्छन् । ‘बाँच्नका लागि त पोट्रेट पनि खिच्छु । तर, रुचिचाहिँ वाइल्डलाइफ हो’, उनी भन्छन्, ‘यो पैसाले टक्क राम्रो लेन्स किन्ने मन छ ।’

सात वर्षअघि बाआमाले पढ्नका लागि पठाइदिएको पैसाले क्यामेरा किनेर फोटोग्राफीतिर लागेका विनय वाइल्डलाइफमा नै आफ्नो फोटोग्राफीजीवन समर्पण गर्न चाहन्छन् ।

शिलापत्रद्वारा आयोजित फोटो प्रतियोगिता नेपाल बिम्ब’मा आज आइतबार कल्चर/फेस्टिबल फोटोग्राफी, ल्याण्डस्केप फोटोग्राफी, पोट्रेट फोटोग्राफी, स्ट्रिट फोटोग्राफी र वाइल्डलाइफ फोटोग्राफी गरी पाँच विधामा उत्कृष्ट फोटोहरू पुरस्कृत भए ।

सात महिनाअघि आह्वान गरिएको यस प्रतियोगितामा देशभरिबाट ५ हजारभन्दा बढी फोटोहरू संकलन भएका थिए । हरेक विधामा विजयी हुने फोटोलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

फोटो शिलापत्र

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार