चौरजहारीमा तरुण दलको अधिवेशन भव्य रुपमा उद्घाटन

चौरजहारीमा तरुण दलको अधिवेशन भव्य रुपमा उद्घाटन

मुसिकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल चौरजहारीको दोस्रो नगर अधिवेशन चौरजहारीमा उद्घाटन भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह र जिल्ला सभापति प्रेम प्रकाश ओलीले संयुक्त रुपमा अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रम नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले स्थानीय निर्वाचनमा स्थानीय स्तरको आवश्यकताका आधारमा गठबन्धन हुने जनाउनुभयो। रुकुममा हुने स्थानीय तहको गठबन्धन काठमाडौंमा बसेर गर्न नसकिने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता खडक बहादुर डाँगीले चेतनाको स्तरमा सुधार नभएसम्म साँचो रुपमा विकास नहुने बताउनुभयो । उहाँले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन एकताबद्द भएर लाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा नेपाल तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्यको सभापतित्व र कांग्रेस नेता गोपाल लामिछानेले संचालन रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारी, महाधिवेशन प्रतिनिधि मनमोहन शाह, तुफैल अहमद खाँ, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य बलबीर गोसाई, क्षेत्रीय सभापति भद्र बहादुर बिष्ट, नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओली, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष मनिषा भण्डारी,  तरुण दल जिल्ला अध्यक्ष लोकेन्द्र केसी, तरुण दल जिल्ला उपाध्यक्ष एवं प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुका साथै आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने प्रतिबद्धता गर्नुभएको थियो ।

कार्यक्रम सुरु हुनु अघि तरुण दलका नेता कार्यकर्ताहरुले नेपाल तरुण दल अंकित टी शर्ट लगाएर चौरजहारी नगरपालिकाको चौफा बजार, नार्जि बजार, मेलैनाउली, बिजयश्वरी, नयाँ बजार, एरपोर्ट लगायतका क्षेत्रबाट नारा जुलुस सहित  मोटरसाईकल र्‍याली निकालेका थिए ।

उद्घाटन कार्यक्रम सम्पन्न गरेको तरुण दलले बन्द सत्र भने भोली मात्रै गर्ने भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा धेरै जना आकांक्षी भएको र चुनाव लक्षित अन्य छलफल पनि गर्नुपर्ने भएकोले आज समय अभावका कारण बन्द सत्र भोली सारिएको नेपाल तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्यले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार