मुसिकोट । नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार प्रधानमन्त्री शेर बहादुर देउवालाई संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा ज्ञापन पत्र बुझाएको निजामती कर्मचारी युनियन रुकुम पश्चिमका अध्यक्ष देबहादुर ओलीले जानकारी दिनुभयो ।
निजामती कर्मचारी युनियनको देशव्यापी कार्यक्रम अन्तर्गत आज युनियनका केन्द्रिय सदस्य गोपाल शर्मा, जिल्ला अध्यक्ष देबहादुर ओली लगायतको युनियनको टिमले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई उक्त ज्ञापनपत्र बुझाईएको हो ।
कर्मचारी युनियनले विगतदेखि उठाएका माग समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।
समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एक पटक पुन स्वेच्छिक रूपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन, राजपत्र अनङ्कित कर्मचारीहरूले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा, समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन लगायत ऐन जारी गर्ने प्रक्रियामा ट्रेड युनियनहरू लगायत सरोकार वाला पक्ष सङ्ग छलफल गरेर मात्र अगाडि बढ्नसमेत माग राखेको छ।
ज्ञापन पत्र बुझ्नुहुदै प्रजिअ घिमिरेले प्रधानमन्त्री कार्यालयमा पठाईने प्रतिक्रिया दिनुभएको छ ।



 
					
							
 
                             
                             
                             
                             
                            