रुकुम पश्चिममा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

रुकुम पश्चिममा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

मुसीकोट । रुकुम पश्चिममा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरिएको छ । शुक्रबार मुसीकोटमा एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिका अध्यक्ष  एवं जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले अभियानको शुभारम्भ गर्नुभएको हो ।

मुसीकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो ।

खोप अभियानको शुभारम्भ गदै जिल्ला समन्वय प्रमुख शर्माले सबै बालबालिकालाई खोप अभियानमा सहभागी गराउनुपर्ने बताउनुभयो । सरकारले देशभरका १५ महिना देखि १५ बर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ ।

मुसीकोटमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख बिष्णुबहादुर बुढाथोकी, डाक्टर भिमकान्त जैसी, खोप सुपरभाइजर अधिकृत कृष्णा खड्का, अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

त्रिभुवन जनता माविबाट सुरु भएको उक्त अभियान जिल्लाका अन्य स्थानीय तहले पनि सुरु गरेका छन् । आजबाट सुरु भएको यो अभियान वैशाख २ गते सम्म चल्ने बताइएको छ ।

स्वास्थ्य सेवा कार्यालयले अस्पताल, स्वास्थ्य चौकी, विद्यालयहरुमा उक्त खोप लगाउने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काका अनुसार जिल्लामा ३७५ वटा खोप केन्द्रबाट टाइफाइड विरुद्धको खोप लगाइने छ । उहाँका अनुसार जिल्लाभरि खोप अभियान अवधिभरमा ४८२ स्वास्थकर्मी परिचालन गरिइएको छ ।

रुकुम पश्चिममा टाईफाईड विरुद्धको खोप लगाउने बालबालिकाको संख्या ४५ हजार ८ सय ७५ रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

खोप अभियान शुभारम्भ कार्यक्रमका झलकहरु :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार