२०७४ को स्थानीय तहको चुनावमा रुकुम पश्चिममा कुन दलको अवस्था कस्तो थियो ?

मत परिमाण सहित

२०७४ को स्थानीय तहको चुनावमा रुकुम पश्चिममा कुन दलको अवस्था कस्तो थियो ?

मत परिमाण सहित

फाईल तस्बीर ।

मुसीकोट । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा २०७४ को स्थानीय तहको निर्वाचनमा सबै पालिका प्रमुख र उपप्रमुख सहित नेकपा माओवादी केन्द्रले ५८ वटा वडामा निर्वाचन जितेको थियो भने नेपाली काँग्रेसले १३ र नेकपा एमाले दुईवटा वडा जितेको थियो ।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ–आफ्नो गृहकार्यमा लागिरहेका छन् । जिल्लामा सत्ता गठबन्धन दलहरुको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाइएको छ । तर अहिलेसम्म पनि निर्वाचनमा गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।

हामीलाई प्राप्त जानकारी अनुसार सता गठबन्धनले जिल्लामा भागबन्डाको टुङ्गो नलगाउँदै नेपाली कांग्रेस बाँफिकोटले अध्यक्ष, उपाध्यक्ष, र सानीभेरी गाँउकार्यसमितिले अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ ।

नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाले अध्यक्षमा जनक कुमार बाँठामगर र उपाध्यक्षको नन्दा केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भने नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाले पार्टिको तर्फबाट अध्यक्षका लागि गोरख प्रसाद चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नेकपा एमाले त्रिवेणी गाउँपालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जिल्ला कमिटिलाई सिफारिस गरेको छ । पार्टीको गाउँ कमिटिको बैठकले अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला विष्टको नाम सिफारिस गरेको एमाले त्रिवेणीले जनाएको छ ।

 

२०७४ को स्थानीय तहको चुनावमा दलको अवस्था :

मुसीकोट नगरपालिका :  रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्रका देवीलाल गौतमले ४ हजार ३५० मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली काँग्रेसका महेन्द्र केसीले ४ हजार १७४ र नेकपा एमालेका विमलकुमार पुनले २ हजार ३५८ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा माओवादीकी प्रेमकुमारी सुनारले ४ हजार ४७९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी बालकुमारी गिरीले ४ हजार १५८ र नेकपा एमालेकी केशरी गौतमले २ हजार १४७ मत ल्याएकी थिइन् । मुसीकोट नगरपालिकाका पाँच वटा वडामा काँग्रेसले जितेको छ भने ९ वडामा माओवादी केन्द्रले जितेको छ ।

चौरजहारी नगरपालिका :  रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित हँदा नेपाली काँग्रेसका बलवीर गोसाइँले ३ हजार २०४ र नेकपा एमालेका शेरबहादुर केसीले २ हजार २८२ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी राधा रोकायाले ५ हजार ३२५ मत ल्याएर निर्वाचित भएकी थिइन् भने नेपाली काँग्रेसकी मनिसा रोकायाले ३ हजार ४८ र नेकपा एमालेकी कल्याणी खड्काले २ हजार ४१३ मत ल्याएकी थिइन् । १४ वडा रहेको चौरजहारीमा नेपाली काँग्रेसले ३, एमालेले १ र माओवादीले १० वडामा जितेको छ।

आठबीसकोट नगरपालिका :  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गोर्खबहादुर केसीले ५ हजार ४८९ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका धीरेन्द्र कुमार वटालाले ३ हजार ५९६ मत र एमालेका हरि प्रसाद शर्माले २ हजार ४५९ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखका माओवादी केन्द्रकै गीता नेपालीले ५ हजार ६१८ मत ल्याएर निर्वाचित बनेकी थिइन् भने नेपाली काँग्रेसकी अनिता बुढाले ३ हजार १८९ र एमालेकी अमृता कुमारी शाह (हमाल) ले २ हजार ७८६ मत ल्याएकी थिइन् । १४ वटा वडा रहेको आठबीसकोटमा एमालेले १, काँग्रेसले २, माओवादी केन्द्रले ११ वडा जितेको छ ।

त्रिवेणी गाउँपालिका :  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादीका  झक्कुप्रसाद घर्ती ३ हजार ९८० मतसहित निर्वाचित हुँदा काँग्रेसका देवबहादुर वलीले २ हजार ६६३ र एमालेका गणेशबहादुर खड्काले ६५२ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा माओवादीकी निर्मला विष्टले ३ हजार ९८० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी देवी पुनले २ हजार ६५२ मत,  एमालेकी कुवली ओलीले ६७७ मत ल्याएकी थिइन् । ८ वटा वडा रहेको त्रिवेणीमा माओवादीले ६ र काँग्रेसले २ वटामा जितेको छ ।

सानीभेरी गाउँपालिका :  रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नरबहादुर पुनले ४ हजार ६५० मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका गोरखप्रसाद चन्दले २ हजार ६१७ र एमालेका मनवीर घर्तीले ५५६ मतमात्र प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा माओवादीकै इन्दिरा ओलीले ४ हजार ६६१ मत ल्याएर निर्वाचत हुँदा नेपाली काँग्रेसकी पुष्पा ओलीले २ हजार ६०३ र एमालेकी लक्ष्मी पुनले ५९९ मत पाइन् । ११ वटा वडा रहेको सानीभेरीमा माओवादीले १० र काँग्रेसले १ वटामा जितेको छ ।

बाँफीकोट गाउँपालिमा : रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाको अध्यक्षमा माओवादीका धर्मबहादुर केसी ३ हजार ५६४ मत ल्याई निर्वाचित हुँदा नेपाली काँग्रेसका जनककुमार बाठा मगर २ हजार ८१३ र एमालेका नगेन्द्र प्रसाद रिजालले ९७ मत ल्याएका थिए ।

यस्तै  उपाध्यक्षमा माओवादीकै मनकला पुनले ३ हजार ५८९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने काँग्रेसकी हिरा केसीले ६६९ र एमालेकी ब्युँझना पुनले २ हजार १०२ मत ल्याएकी थिइन् । १० वटा वडा रहेको बाँफीकोटमा सबै वडामा माओवादी केन्द्रले जितेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार