स्थानीय तह निर्वाचनका सहभागी हुने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अगाडि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई सामाजिक सञ्जाल प्रयोगको बारेमा ध्यानाकर्षण गर्दै २ बुँदे निर्देशन जारी गरेको छ। आयोगले वैशाख ११ गतेको निर्णयमा टेकेर २ बुँदे निर्देशन जारी गरेको हो।
‘राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधिभित्र रही आफ्नो प्रचार प्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा सो विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मदेवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा त्यस प्रकारका सामाजिक सञ्जालका खाताको विवरण अनिवार्य रुपमा बुझाउने,’ निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ, ‘साथै कुनै राजनीतिक दल वा उम्मेदवारले आयोग वा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको स्वीकृत नलिइ सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गरेको पाइएमा त्यसलाई आचारसंहिता उल्लंघन कार्य मानी कारबाही हुने छ।
सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा राजनीतिक दल, उम्मेदवार तथा राजनीतिक दलको भातृ संगठनका नाममा आयोगले यस्तो निर्देशन जारी गरेको हो।
निर्वाचन आचार संहिता, २०७८ को दफा ४ को खण्ड (ठ) मा भएको व्यवस्थानुसार सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुनेप्रति आयोगले सचेत गराएको छ।