मुसिकोट । रूकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ। चुनावी गतिविधिका क्रममा शुक्रबार राति चौरजहारी नगरपालिका वडा नम्बर १ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्।
रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार काँग्रेस चौरजहारी नगरपालिका वडा नम्बर १ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी , काँग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते भएका छन ।
घाइतेमध्ये वडा सभापति योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अन्यको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाईते बिष्ट र बिकको टाउकोमा गम्भिर चोट लागेको छ ।
ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिनुभएको छ ।
यस्तै दर्जनौ माओवादी कार्यकर्ताहरु एक गाउँबाट अर्को गाउँ गएर काँग्रेस कार्यकर्ता माथी आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक बनेको नेपाली काँग्रेस चौरजहारीको आरोप छ ।