नीति तथा कार्यक्रम पारित, भोलि बजेट

नीति तथा कार्यक्रम पारित, भोलि बजेट

सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।

शनिबारै सभामुखले निर्णयार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिएका थिए । यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नीति तथा कार्यक्रम पारितपछि अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९, सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७९ र मन्त्रालयगत प्रवगति विवरण, २०७७/०७८ को यथार्थ २०७८/०७९ को चैतसम्मको विवरण संसद्मा पेस गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार