महिला हिंसाको जड बालबिवाह

महिला हिंसाको जड बालबिवाह

मुसिकोट । पश्चिम रुकुमका जनप्रतिनिधिहरुले महिला स्वास्थ्य अधिकारका बारेमा आफूहरु गम्भीर भएको बताएका छन्। अन्र्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अवसर पारेर सोमबार मुसिकोटमा आयोजित एक कार्यक्रममा उनिहरुले नीति नै बनाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेका हुन्।

महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यातनाबाट मुक्त हुने अधिकार, स्वास्थ्य अधिकार, गोपनियताको अधिकार, शिक्षाको अधिकार र भेदभाव निषेध लगायतका अधिकारहरु मानव अधिकारसँग सम्बन्धित रहेको भन्दै मुसिकोट नगरपालिका र ओरेक रुकुमको आयोजनामा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  सहभागीले कार्यपत्र माथि छलफल गर्दै जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्य समस्या र वालबिवाह धेरै रहेको गुनासो गरेका थिए।

सहभागीका जीज्ञासा माथि बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले महिला स्वास्थ्य र अधिकारका सवालमा गम्भीर भएको बताउँदै। नीति बनाएर कार्यान्वयनमा जाने बताउनु भयो । ओरेक रुकुमका करुणा रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रको सहजीकरण मुसिकोट नगरपालिकाका महिला शाखाका कमला मल्लले गर्नुभएको थियो ।

सहभागीले महिला हिंसाको जड बालबिवाह भएको बताएका थिए। महिला हिंसाका घटना गम्भीर तरिकाबाट हिंस्रक भएर आउन थालेको बताउँदै नयाँ जनप्रतिनिधिलाई नीति बनाएर लैजान सुझाव दिएका थिए। नगर प्रमुख केसीले महिलाको मुद्दा महिलाले मात्र उठाएर नहुने बताउँदै यस्ता साझा मुद्धा र कुरितिविरुद्ध हातेमालो गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

सोही अवसरमा राष्ट्रिय महिला अधिकार दिवसका बारेमा समेत छलफल गरिएको थियो। नेपाल सरकारले २०७६ जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालेको छ। नेपालमा महिला अधिकारका चार सवालहरु सम्बोधन भएको दिनलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालिएको हो।

आमा वा बुवा मध्यबाट नागरीकता प्राप्ती, कम्तीमा एकतिहाइ महिलालाई राज्यका हरेक संरचनामा सहभागिताको सुनिश्चितता, विभेदित कानुनको खारेजी र महिला प्रति हुने गरेको हिंसा अन्त्य गर्ने सवाल सम्बोधन भएको भन्दै यो दिवस मनाउन थालिएको हो।

नगर प्रमुख महेन्द्र केसीको अध्यक्षता सम्पन्न कार्यक्रममा उपप्रमुख बिमल कुमार पुन, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, सुरक्षा निकायका प्रमुख, मुसिकोट नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न महिला संघ संगठनका प्रमुख तथा प्रतिनिधि एबं सरोकारवाला सबैको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार