भुम्या पर्व अर्थात बल पुजा

विचार

भुम्या पर्व अर्थात बल पुजा

विचार

नेपाल अनेक जात अनेक बर्णको साझा फुलबारी हो । ति अनेक जात र बर्ण भित्रको एक फुल मगर समुदायले यो पर्व प्रत्येक बर्ष असार सक्रान्तिका दिन पहाड चुचुरामा पन्थेउली देवता तथा गाउँ बस्तीमा भुमि/भुम्या देवतालाई बलि दिई पुजा गर्ने गर्दछन । यो पर्व विभिन्न जिल्लाको गाउँहरुमा विभिन्न नामले परिचित छ । रुकुम पश्चिम र रुकुम पुर्ब जिल्लाको गाउँहरुमा यस पर्वलाई मगर खाम बाट कुनै गाउँहरुमा बलकैय कुनै गाउँहरुमा बुलकु त कुनै गाउँहरुमा नोकोवाङ्गे भन्ने गरिन्छ ।
रोल्पाका विभिन्न गाउँहरुमा यस पर्वलाई मगर खाम बाट कुनै गाउँहरुमा नामक त कुनै गाउँहरुमा नोकोवाङ्गे भनिन्छ भने बागलुङका गाउँहरुमा यस पर्वलाई मगर खाम बाट नाम पुजा भन्ने गरिएको छ । खस कुरा अर्थात नेपाली भाषामा यस पर्वलाई सबैले बल पुजा,भुम्या पुजा भन्ने गरेको पाइन्छ । तर बसाइँसराइको कारणले शहरी क्षेत्रमा आजभोलि प्राय भुमे भुम्या पुजा भन्ने गरिएको छ । वास्तवमा यस पर्वको नाम मगर खाम बाट नाम पुजा हो भने खास कुरा अर्थात नेपाली भाषा बाट भुमि पुजा हो । यस पर्वको नाम मगर खाम बाट उही रहे पनि नेपाली भाषा बाट भने भुमि शब्द अपभ्रमस भएर भुमे,भुम्या भएको छ । त्यसै कारणले आजभोलि यस पर्वलाई भुमे,भुम्या पर्व भन्ने गरिएको छ ।
भुमी/भुम्या पर्व

मगर जातिले भुमि देवता माथी बिजय प्राप्त गरि दैवीय बिपत्ति बाट आफुलाई बचाएको उपलक्ष्यमा मनाएको एक उत्सव हो । यो पर्व मगर जातिका १२ गण राज्य र १८ गणराज्यहरु मध्य बिषेश गरि १८ गणराज्य भित्रको क्षेत्रहरुमा मनाउने गरिएको छ । अहिले बसाइँसराइको प्रभावले देश तथा बिदेशहरुमा पनि कामको थकाइ मेटाउनुका साथै आफ्नो संस्कृतिको जग्रेना गर्न आफुलाई पाए पर्ने ठाउँमा धुमधामका साथ मनाउने गरेका छन ।

भुमिरभुम्या पर्वको थुप्रै विशेषताहरु छन । यस पर्व संग सामाजिक, भाषिक, साँस्कृतिक, राजनितीक र आर्थिक महत्वहरु जोडिएका छन । यस पर्वमा टाढा टाढा गएका आफ्न्तहरु फर्केर घरमा आउने गर्दछन । आफ्ना सुख दुखका कुराहरु गर्ने नयाँ कपडाहरु लगाउने मिठा मिठा परिकार बनाएर खाने गरिन्छ । युवा युवतीहरुले आफुलाई मन परेको ब्यक्तिलाई प्रेम प्रस्ताव राख्नुका साथै कुनैले घरजम समेत गर्ने गर्दछन । यो पर्वलाई वास्तवमा पारिवारिक सम्बन्ध जोड्ने अवसरको रुपमा पनि मनाउने गरिन्छ । यस पर्वमा नाचिने नाच सायद संसारको यहि मात्र नाच हुन सक्छ, बुढाबुढी देखि युवायुवती, केटाकेटी सबै एकै ठाउँमा हजारौंको संख्यामा पनि मिलेर आफ्नो परम्परागत ग्रगहना र भेषभुषामा सजिएर नाच्न मिल्ने । साथै यस पर्वमा बजाइने गाजाबाजाको पनि आफ्नै महत्व छ । बाजागाजा बजाउन शुरु भयो भने प्रकृतिमा भएका चराचुरुङ्गी, किरा, फट्यांग्राहरु संगीत सुन्न बाहिर निस्कन्छन र बालिनालीलाई असर हुदैन भन्ने जन बिश्वास पनि रहिआएको छ । यसै पर्वको अवसर पारेर जनगणना गर्नुका साथै राजनीतिक हिसाबले गाउँका जनप्रतिनिधिहरुलाई फेरबदल गर्ने अर्थात नयाँ चयन गरि,आर्थिक आयव्यय समेत प्रस्तुत गर्ने गरिन्छ । भुम्या पर्व मानव जातिको बिकास संगै उत्पत्ति भएको एक प्राचीन मानव सभ्यता र साँस्कृतिक सभ्यता हो ।

बल पुजा
गाउँ बस्तीमा भल, पहिरो, हुरी, बतास जस्ता प्राकृति प्रकोप बाट बच्नलाई र राम्रो खेतीपातीको कामना सहित सिमे, भुमेलाई मनाउदै पशुपंक्षीको बलि दिई मगर जातिले पराकाल देखि गर्दै आएको एक इतिहाँसिक पुजा हो । छोटकरीमा भन्दा भल, पहिरो जान बाट रोक्नलाई गरिने पुजा नै बल पुजा हो । वास्तवमा प्राणी जगत, मानवले जल, जमिन र जंगललाई आदर सम्मान गर्नुपर्छ, बचाउने हाम्रो मानवीय दायित्व हो ।
पर्व मनाउने र पुजा गर्ने बिधि
यो पर्व मनाउन एक महिना अगाडि देखि नै तयारी गर्ने गरिन्छ । जेठ १ गतेका दिन गाउँका युवायुवतीहरु जम्मा भएर गाउँका बाजा बजाउनेहरुको घरमा पुगि सगुनको रूपमा रक्सी लगेर बाजा फुकाइदिने अनुरोध गर्दछन र बाजाबजाउनेहरुले पनि ति युवायुवतीहरुको अनुरोधलाई स्विकार्दै, सिम्या, भुम्या देउ पित्रलाई रक्सी सक्क गरि अर्थात चढाएर आफुले खाने गर्दछन र दमाह, त्याम्की,झ्याली र सनाई बजाएर बाजा फुकाउने गर्दछन । युवायुवती लगायत सबै जना बाजाको तालमा भुम्या नाच नाच्ने गर्दछन । यसरी जेठ महिना भरी रियलसल गरिसकेपछि जेठको मसान्तका दिन बिहान सबेरै युवायुवतीहरु भुकीपाट्न,लेक तिर फुल टिप्न जाने गर्दछन । यसै क्रममा कुनै कुनै युवायुवतीले प्रेम सम्बन्ध पनि गाँस्ने गर्दछन ।
गाउँमा असार १ गते अर्थात सक्रान्तिका दिन बिहान सबेरै गाउँका गन्नेमान्ने बुद्धिजीवी भद्रबलादमी मुखियाहरु तैइबिल्याको अर्थात गाउँको कोषाध्यक्षको घरमा जम्मा भइ बाजाबजाउनेहरुलाई बोलाउने गर्दछ्न । बाजा बजाउनेहरु आफ्नो बाजागाजा संग आए पछि तैइबिल बाट दजा,धूप र अक्षेता सहित बाजागाजा बजाउदै भुम्या नाच नाच्ने ठाउँमा गएर धुपी चौतारा सिम्या भुम्या दाइनो हुनु भनी नाच्ने ठाउँको छेव तिर दजा धूप हालेर अक्षेता चारदिसा तिर फालेपछि लगेको रक्सी सबैले बाँडेर खाइ औपचारिक रूपमा बाजागाजा बजाएर भुम्या पर्वको उदघाट्न गर्ने गर्दछन । केही समय भुम्या नाच नाची सकेपछि फेरि फर्केर तैइबिलमा गइ भुम्या पुजा गर्नको लागि जैशीले पात्रो हेरेर राम्रो उपयुक्त समय निकाल्दछ्न । बल तान्ने ब्यक्ति र बल लखेट्ने ब्यक्तिहरुको पनि ग्रह, रासी मिल्नु पर्ने चलन भएको कारणले उनिहरुको पनि ग्रह रासी जैशीले हेरि मिलाउने गर्दछन । जैशीले बल तान्ने र लखेट्ने ब्यक्तिहरु तोकिसके पछि तोकिएको समयमा पुजारीले बल अर्थात भेडा साँधेलाई मुलको चोखो पानीले मन्छाएर अर्थात पखाली भुकीपाटन, लेक बाट टिपेर ल्याएको रंगिच्ंगी फुलले सजाउने गरिन्छ । अनि अगाडि अगाडि एक जना बाजा बजाउनेले एकोहोरो दमाह बजाउदै दमाहको पछाडि पछाडि बल तान्ने लखेट्ने र पुजारी जाने गर्दछन । बल हाल्ने समयमा लकडाउन गर्ने गरिन्छ । सबै शान्त बस्ने होहल्ला नगर्ने र जो जहाँ छ त्यहीँ बसि राख्नु पर्ने हुन्छ । बल हालेर सकिएपछि लकडाउन खुल्ला गरिन्छ । बललाई गाउँको बिच बाट तान्दै लखट्दै लैजाने गरिन्छ ।
गाउँलेहरुले बल भेडा साँधेलाई लखट्नको लागि महिलाहरुले ध्वाँसो खरानी र दशैको बेला ढोकामा चढाएको गोबरमा लगाएको टीका जमरा उपकाइ धान कोदो तोरि नाङ्गलोमा राखी तयारी बनाएर राखेका हुन्छ्न भने पुरुषहरूले ढुङ्गैढुङ्गा भएको अलि बिरपाखा तिर पाइने पात मगर खाममा हाँपला ख्यामा खरानी ध्वाँसो गहुँ जौं र मकैको सानो बिरुवा राखी बाँडेर पोको पारी राखेका हुन्छन र बल भेडा साँधे आफ्नो नजिकै आए पछि यस सालको हाम्रो कालो मैलो ग्रह दशा रोग ब्यथा सबै यसैले लगेर जाओस भनी महिलाहरुले नाङ्गलोमा राखिएको सबै बल भेडा साँधेको माथी फाली दिन्छन भने पुरुषहरूले पातमा पोको पारेर राखिएको पोको सबै बल भेडा साँधेलाई हानी गाँउ बाट लखट्ने गर्दछन । लखट्ने क्रममा भेडा साँधे जुन सायदमा गएर उफ्रीन्छ त्यो सायद तिरको मान्छेलाई अशुभ नराम्रो हुन्छ भन्ने जनबिश्वास छ ।
यसरी लखट्दै गाउँ निकाला गरेको बल भेडा साँधेलाई गाउँ बाट केही टाढा लगेर फेरि मुल बाट लगेको चोखो पानी र दुबोपाटिले मन्छाउने गर्दछन । बल अर्थात भेडा साँधेले टाउको हल्लाएको खण्डमा अब मान्यो भनि काटेर भुम्या देवतालाई रगत मुटु कलेजो चढाइन्छ । काटेको भेडा साँधेको आन्द्रा बुँडी निकालेर पात्रोको रूपमा हेरेर अनिकाल शुबिकाल हुने नहुने गाउँमा राम्रो नराम्रो हुने संकेत समेत पत्ता लगाउने गरिन्छ । बल हालेर सकिए पछि तेलमा रोटी पकाउने मीठो मीठो खानाको परिकारहरु पकाउने गरिन्छ । भने पुजा गरिएको भेडा साँधेलाई पन्चमा लगेर पुजारी बाजाबजाउने र तान्ने लखट्ने ब्यक्तिहरुलाई भाग छुटाई बाँकी रहेको मासुलाई पकाएर अर्नि संग सबै गाउँहरुले बाँडेर खाने गरिन्छ । त्यस पछि भुम्या नाच्ने ठाउँमा गएर भुकीपाटन, लेक बाट टिपेर ल्याएको लामो समय सम्म नओइलाउने रोतो, सेतो फन्दना र रथबिरथ फुल लगाई हाम्रो सादभाव सामाजिक भाइचारा सम्बन्ध पनि यो फुल जस्तै नओइलाओस भनी आशीर्वाद दिदै परम्परागत भेषभुषामा सजिएर भुम्या नाच नाच्ने गरिन्छ । भुम्या नाच नाच्दा आफ्नो मनका भह दुस्खहरु पोख्दै हंकार हाल्नुका साथै गीतहरु गाउदै रमाइलो गरिन्छ । पहिले भुम्या नाच बाईस चाला र बाईस बाजामा नाच्ने बजाउने गरिए पनि आज भोलि सात देखि एघार बाह्र चाला सम्म मात्र नाच्ने गरेको पाइन्छ ।
भुमि/भुम्या पुजा कसरी सुरुवात भयो ?

किम्बदन्ती अनुसार परापुर्व कालमा एक मगर गाउँका मान्छेहरुले नजिकैको खोला बाट पानी लिएर खाने गर्दथे । पानी लिन जाने क्रममा केही मान्छेहरु प्रत्येक दिन हराउन थाले पछि गाउँलेहरु त्रसित, चिन्तित हुँदै सल्लाह छलफल गर्दछन । सबैको छलफल सल्लाह अनुसार त्यो हराउने मान्छेहरुलाई कता गयो कतै कुनै जीवजन्तुले खाँदो रहेछ कि,कता जान्छन भनी पत्ता लगाउनको लागि पानी लिन जाने बाटो देखि खोलाको वरिपरि सम्म लुकेर चियो गर्ने योजना बनाउदछन । जुन योजना अनुसार पानी लिन जाने बाटो देखि खोलाको वरिपरि सम्म केही मान्छेहरुलाई राखिएका हुन्छन । त्यसै क्रममा गाउँबाट केही मान्छेहरु पानी लिन आउदछन । सबै जना पानी भरेर फर्किने क्रममा खोलाको छेवमा रहेको ठूलो ढुंगाहरुको कोपबाट डरलाग्दो सर्प जस्तो अजिङ्गर बिस्तारै निस्केर अगाडिका मान्छेहरूले थाहा नपाउने गरि पछाडिको मान्छेलाई क्वाप्पै खाएको चियो गर्ने मान्छेले देखेपछि आत्तिदै गाउँमा पुगि घटनाको बिषयमा सबै गाउँलेहरुलाई बताउदछन । उक्त घटना सुनेर गाउँलेहरु चिन्तित हुदै, त्यो डरलाग्दो सर्प जस्तो अजिङ्गरलाई अब कसरी ठिक पार्न सकिन्छ भनी सल्लाह छलफल गर्दा शिर्पाकोट बाट आएर त्यस गाउँमा बसेका एक शिर्पालीको नेतृत्वमा ठूलो फलामको सन्नासो बनाइ त्यस डरलाग्दो सर्प जस्तो अजिङ्गरलाई घाँटीमा समाइ मार्ने झुक्ती निकाल्दछन । त्यही झुक्ती अनुसार शिर्पाकोट बाट आएको शिर्पालीको नेतृत्वमा त्यो डरलाग्दो सर्प जस्तो अजिङ्गरलाई ठिक पार्नलाई त्यो अजिङ्गर निस्किने खोला छेवको ठुलो ढुंगाको पछाडि र वरिपरि गाउँहरुले लुकेर बस्दछन ।

यसै क्रममा साँझ पख गाउँबाट पानी लिन आउने मान्छेहरु आउदछन । सबै जना पानी भरेर फर्किने क्रममा फेरि खोला छेवको ठूलो ढुंगाको कोप बाट डरलाग्दो सर्प जस्तो अजिङ्गर निस्केर बिस्तारै पछाडिको मान्छेलाई क्वाप्पै खान खोज्दा खेरी पछाडि लुकेर बसेको शिर्पाली आएर घाँटीमा च्याप्पै सन्नासोले समाइ दियो र वरपर लुकेर बसेका मान्छेहरू पनि आइ पालो पालो गरि सन्नासोले च्याप्दै तँ को होस यसरी हामीलाई दु:ख दिने हाम्रो मान्छेहरुलाई खाने तँलाई नमारी हामी छोड्दै छोड्दैनौं भने पछि अन्तिममा प्राण जाने अवस्था भए पछि बाध्यताले त्यो डरलाग्दो अजिङ्गर बोल्दै गाउँलेहरुलाई भन्छ, मलाई छोडीदिनु मलाई मार्‍यो भने तिमीहरुलाई अनिष्ट हुन्छ,मलाई छोडि दिनुस मलाई नमार्नुस भने पछि गाउँलेहरुले तँ को होस भनेर सोध्दा म भुमि देवता हुँ,बरु मेरो एउटा माग छ भनेर भन्दा के माग हो भनी सोध्दा मेरो एउटै मात्र माग छ ।

मलाई प्रत्येक बर्ष आजकै दिन अर्थात असार सक्रान्तिका दिन चोखो गरि भेडा साँधेको बलि दिई पुजा गरिदिनु भयो भने म शान्त हुन्छु भन्दा सो कुरालाई गाउँहरुले सहर्ष रुपमा स्वीकार गरि आउँदो दिनमा कुनै दु:ख कष्ट नदिने बाचाका साथ त्यस अजिङ्गरलाई छोडी दिएको र त्यस पछि कुनै त्यस्तो घटनाहरु नभएको कारणले मगर जातिले प्रत्येक असार सक्रान्तिका दिन भेडा साँधे काटेर बलि दिई पुजा गर्ने गर्दछन । तर आजभोलि ठाउँ अनुसार कुखुरा बाख्रा सुँगुर र भेडा साँधे पुजा गरेको पाइन्छ । तसर्थ पुजा गरि सके पछि दैवीय बिपत्ति बाट आफुलाई जोगाएको र भुमि देवता माथी बिजय हाँसिल गरेको उपलक्ष्यमा यो भुमि/भुम्या पर्व मान्न शुरूवात गरिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार