गणेश विशु
बढ्दै गएको गर्मी । त्यसमा बन्दाबन्दी (लकडाउन) ले घरभित्रै बस्नु पर्दाको पठ्यार लाग्दो दैनिकी । यस्तो बेलामा सामाजिक सञ्जाल नचलाएर दिन काट्न पनि मुस्किल । सामाजिक सञ्जाल चलाउँदै थिए । विश्वभरि फैलिरहेको कोरोना भाइरससम्बन्धी विभिन्न समाचारहरू सेयर गरिएका थिए । अहिले चासो पनि यसैमा छ । यही भिडमा एउटा स्टाटस नेर मेरो हात रोकियो । पत्रकार खिलबहादुर भण्डारीको सामाजिक सञ्जाल फेसबुकमा लेखिएको थियो उक्त स्टाटस । मात्रै दुई हरफको । तर लाग्थ्यो पूरै किताब पढे जस्तो ।
‘पोल्छ साइला यी मनहरू
के काम सरकारी धनहरू’
यसको मुनि करिब ११ वटा फोटा पोस्टिएका थिए । फोटोमा प्रस्ट देखिन्थ्यो, ‘सरकार हराएको ।’ कोठाभित्र बस्दा मलाई गर्मी महसुस भएकै छ । चर्काे घाम त्यसमा तातो सडक । चर्काे घाम र तातो सडक नभिन तालु तताउँदै पसिना चुहाउँदै भोकै प्यासै हिँडेका पैदल यात्रीका ती तस्विरले सरकार भएको अनुभूति गराउँदै गराएन । यदि सरकार भएको अनुभूति हुन्थ्यो भने यस्ता तस्विर सामाजिक सञ्जालभरि छरपस्ट हुने थिएनन् । ती तस्विरमध्ये पनि दुई तस्विर झनै दर्दनाक थिए । एउटा केटा अगाडि हिँड्दै गरेका । अर्काेले पछाडि एउटी महिलालाई काँधमा उठाएर हिँडिरहेका । उनीसँग आफ्नो सामान पनि । लाग्छ उनले रहरले ती महिलालाई काँधमा हालेका होइनन् । मेरो सहजै अनुमान भयो, ‘हिँड्दा हिँड्दा ती महिलाका खुट्टामा फोका उठे थिए । मानवीय स्वभाव या त आफन्तको हिसाबले आफ्नै झोलासँगै ती महिलालाई पनि बोकेको हुनुपर्छ ।’
अर्काे तस्विरमा एउटा प्रतिक्षालय छ । त्यहाँ महिला पुरुष दुवै छन् । त्यहीँ भिडमा बच्चासहितका महिला पनि छिन् । यस्तो अवस्थामा पनि उनी बच्चासहित गन्तव्यमा निस्केकी छिन् । ती महिलालाई घर पुगिन् वा पुगेकी छैनिन् होला । कति दिनमा पुग्छिन् या पुगिन् होलिन् । यहाँ पोस्ट गरिएका सबै तस्विरले भावुक बनायो ।
केही समय पछि ती तस्विरहरू सामाजिक सञ्जाल भरियो । पत्रकार भण्डारीले पनि सायद ती फोटा सामाजिक सञ्जालबाटै प्राप्त गरेका थिए । सयौं किलोमिटर पार गर्दै गन्तव्यमा निस्केका छन् पैदल यात्री । उनीहरूको यो रहर होइन् बाध्यता हो । उनीहरू कति दिन सडकमै बास बासे होलान् । भोक प्यासले कति सतायो होला, ती तस्विरले प्रष्टै देखाउँछ । एक ठाउँबाट अर्काे ठाउँ जाँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन लगायो । सोहीअनुसार कलकारखाना, उद्योग, यातायातलगायतका क्षेत्र बन्द छन् । बजार सुनसान छन् ।
यातायात बन्द हुँदा खाना अभावमा कयौं मान्छे पैदलै यात्रा गरे । केहीले गर्दैछन् । उनीहरू भोग प्याससँगै बाटोमा हिँडिरहेका छन् । ती व्यक्तिलाई नत सरकारले रोक्न सकेको छ न त जहाँ हो त्यही खानाको व्यवस्था गरेको छ । सवारी साधनमा यात्रा गर्दा कोरोना सर्ने र हिँडेर गाउँ घर पुग्दा कोरोना संक्रमणको जोखिम नहुने हुन्छ र ? मेरो सरकारलाई यही प्रश्न छ । कित मान्छेलाई जहाँ हो त्यही सुरक्षित ढंगले खान र बस्नको व्यवस्था गर्नु पर्छ । होइन भने उचित स्वास्थ्य परीक्षण गरी गन्तव्यसम्म सरकार आफैँले उनीहरूलाई पु¥याउनु जरुरी छ ।
जनतालाई सरकार चाहिने नै दुःख पीडाका बेला हो । अरुबेला त जनता आफैँ संघर्ष गरेर दैनिकी चलाउँछन् । यस्तो बेलामा सरकारले अभिभावक्तव निर्वाह गर्न जरुरी छ । सरकारविहीन जस्तो बाटोमा हिँडिरहेका पैदल यात्रीलाई हेरेर बस्नु गैरजिम्मेवारी हो । अहिले सामाजिक सञ्जाल यी नै तस्विरले चर्चा पाएका छन् । यिनै तस्विरले म जस्ताको मन बहकाएको छ । तस्विरहरु : विभिन्न सामाजिक सञ्जाल बाट ।