लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले ठहर गरेको छ ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउंदै वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताए । ‘एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका छ’, मुख्यमन्त्री केसीले भने । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए ।
उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।