उत्सव पोखरेललाई तारा एयरको विमान दुर्घटनापछि सबैले तस्बिरमा देखे। पाइलटको भेषमा लुक्ला एयरपोर्टमा खिचिएको उनको तस्बिर फेसबुक प्रोफाइल पिक्चरबाट सञ्चारमाध्यमले साभार गरेका थिए। जोमसोमका लागि तारा एयरमा पोखराबाट उडेका उत्सव सहायक पाइलट थिए।
दुर्घटनामा दिवंगत २२ जनामध्ये उत्सवको शव पनि गन्तीमा पर्यो। दुर्घटनास्थलबाट मृतकको उद्दार हुँदा उनी कपडामा बेरिए। चीरनिद्रामा उनको शव काठमाडौं आइपुगेको थियो। उत्सवलाई हामीले तस्बिरमार्फत चिन्यौं। तस्बिरमा देखिएका खाइलाग्दा उत्सव तारा एयरको सहायक पाइलट हुनुबाहेक हाम्रा लागि मृतकका गन्तीमा मात्र थिए।
तर चौरजहारीमा सपनाको उडान भर्न २५ वर्षअघि उदाएको त्यो ठिटोको अवसान चौरजहारीदेखि फिलिपिन्ससम्म फैलिदाँ वियोगान्त कथा बनेको छ। उत्सवको चित्कार लाजुङको पहरोमा जहाज ठोक्किँदै गर्दा दुरदुर क्षितिजमा सायदै सुनिन्थ्यो! तर छोराको रोदन चर्काे स्वरमा चौरजहारीमा बुवाआमाले र फिलिपिन्समा दाइले असह्य पीडाका साथ सुने।
पाइलट बन्ने रहर
रूकुम पश्चिम चौरजहारीमा ट्विनअटर जहाज ओहोरदोहोर गर्दा बालखैदेखि चाख मानेर जहाज अलप नभइञ्जेल हेरिरहने उत्सव आखिरीमा पाइलटै बने। उत्सवको बाल मस्तिष्कमा ती जहाज उडाउने मान्छे मात्र थिएनन्। भगवानरूपी पाइलट दन्त्यकथामा झै वायुपंखी घोडा पो उडाइरहेका थिए कि!
सपनाको त्यो हुटहुटीले डोर्याएको एउटा तन्नेरी कालान्तरमा जिल्लाकै पहिलो पाइलट बनेको थियो।
छोराको बालहठअघि बुवाआमा हायलकायल थिए। प्लेन दुर्घटनाका अनेक खबरले हवाई सुरक्षा प्रति बुवालाई संशय थियो। बरू छोरोले डाक्टरी पढिदिए हुन्थ्यो भन्ने चाहना बुवाको थियो।
अफसोच ! बुवाको चाहना विपरीत दुवै छोराले हवाई क्षेत्र रोजे।
एकातिर बुवाको इच्छाविपरीत कान्छो छोरो प्लेन दुर्घटनामा मारिएको छ। अर्काेतिर परिवारमा बाँकी रहेको छोरो फेरि आकाशमै उडान भर्ने कसरतमा यति बेला फिलिपिन्समा पाइलट तालिममा अनवरत छ। धर्मसंकटको यो दोसाँधमा बुवा यति बेला अनुत्तरित छन्।
बुवा मणिराम अहिले पनि दसैंमा छोराले काठमाडौं बोलाएको सम्झनुहुन्छ। २०७४ सालको दसैंमा परिवारै काठमाडौंमा भेला हुँदा उत्सवले पाइलट पढ्न चाहेको सुनाए। कान्छो छोरो त्यसै पनि सबैको माया प्यारमा हुर्किएको। उत्सवले परिवार भेलामा आफ्नो सपनाको उडान भर्ने योजना निःसंकोच सुनाएका थिए।
एक निमेषमा बुवाले ‘यो सुरक्षित पेसा होइन’ भन्नुभएको सम्झना ताजै छ उत्सवका दाइ उमेशलाई।
‘यो खर्चिलो पनि छ,’ बुवाले सम्झाउँदै भन्नुभयो, ‘त्यसमाथि तिमीहरू दुई भाइ मात्र छौ।’
बुवाले प्लेन उडाउनेको जिन्दगी अभर पर्नसक्ने तर्फ सचेत गराए।
कान्छो छोरोको ढिपी अतिबिघ्न देखेपछि बुवाले हप्ता दिन जति समय पुनर्विचार गर्न दिनुभयो।
‘दाइ भन्दे न तैंले, म सक्छु यो पढ्न। मलाई योबाहेक अरू विषय पढ्न मनै छैन,’ भाइले त्यति बेला घच्घच्याएको उमेश आज पनि झल्झल्ती सम्झिन्छन्। उत्सवका साथीहरू स्नातक भर्ना भइसक्दा उनी भने पाइलट पढ्ने ध्याउन्नमा परिवार मनाउँदै थिए।
सपनाको त्यो उडान
चौरजहारीमा उत्सव सँगसँगै दाइ पनि जहाजको रमिता हेर्थे। त्यो स्मृति आज उमेशलाई एउटा फेन्टासी जस्तो लाग्छ। त्यति बेला चौरजहारीमा जहाज आउँदा घरघरबाट चिलगाडी हेर्नेको घुइँचो लाग्थ्यो।
२०३० सालमा चौरजहारीमा एयरपोर्ट बनेपछि रुकुम पश्चिम, भेरीपारि जाजरकोट र आसपासका क्षेत्रमा हवाई जहाज यातायातको एक मात्र माध्यम बनेको थियो। अन्यथा जिल्ला बाहिर जानुपरे हिँडेरै सल्यान झरेपछि मोटर चढेर दुई दिनमा नेपालगञ्ज पुगिने बाध्यता थियो।
पोखरेल परिवारका दुवै छोराहरू हुर्किँदा समेत चौरजहारीवासी उसैगरी हवाइजहाजको रमिता हेर्थे। प्लेन चढ्ने सबैको हैसियत पनि हुन्न थियो।
०६० सालमा जम्मा १६ सय रूपैयाँ पर्ने टिकटसमेत नपाएको त्यो विगत सम्झिँदै दाइ उमेश भन्छन्, ‘जहाज कम्तीमा हाम्रो लागि सपनाको उडान मात्र थियो। जहाज चढिहाले पाँच वर्षसम्म त्यसैको गफ गर्थ्यौं।’
विगतका यस्तै ट्रिगरिङ फ्याक्टरका कारण दाजुभाइ सपनाको उडान भर्न पाइलट बन्ने रहरमा अनिदा थिए। चौरजहारीमा देखेको सपनाले त्यो बेला आकार पायो जब दाजुभाइ नै उच्च शिक्षाका लागि काठमाडौं पुगे।
तर पाइलट पढ्न बुवाले बाटो प्रशस्त गर्नु हुन्न भन्नेमा उत्सव र उमेश लगभग पक्का थिए। त्यसैले दुवै जना आफूखुसी पाइलट कोर्सबारे बुझिरहे पनि आपसमा प्लेन उडाउनेबारे भने कुरा गर्दैन थिए। बुवा शिक्षा स्रोत केन्द्रका जागिरे। आमा विद्यालय शिक्षक। सीमित कमाइले धानेको मध्यम वर्गीय परिवारमा जेठो छोरो उमेशले पाइलट पढ्छु भन्न आँट गरिरहेका थिएनन्।
फेरि हवाई सुरक्षा प्रति बुवाको चिन्ता। उमेशले सपनाको उडानको त्यो फेन्टासी थाती राख्दै त्रिचन्द्र कलेजमा माइक्रोबायोलोजी पढ्न थाले। तर पाइलट बन्ने भाइको त्यो उत्कण्ठा देखेर दाइ उमेशलाई पनि रहर लाग्यो।
‘पाइलट पढ्नेबारे उसले सबै बुझेर बसेको रैछ,’ भाइको त्यो अठोट उत्पातसँग चौरजहारीदेखि नै गाडिएको उमेशको बुझाइ छ।
हप्ता दिने भाका सकिँदै गर्दा बुवाले उत्सवलाई सोधे, ‘के गर्छस् त, जानै नै भइस् त पाइलट पढ्न?’
बुवाको प्रश्न भुइँमा खस्न नपाउँदै उत्सवले भने, ‘अँ मैले त राती सपनामा पनि प्लेन नै उडाएको देखेँ।’
पाइलट पढ्न नपठाउने भए डाक्टर, इञ्जिनियर, बिबिएस केही पनि नपढ्ने बर दुबई, कतार जानेमा उत्सव टुंगिए।
यति भएपछि उत्सवको सपनाको उडान अघिल्तिर बुवाको केही सीप लागेन।
लगत्तै ठूलो छोरालाई सोधे, ‘के गर्ने त बाबु, भाइले मानेन। तँ के भन्छस्?’
‘उसको इच्छा नै त्यही रैछ। के गर्ने,’ उमेशले आफ्नो बाध्यता मिसिएको स्वरमा बुवालाई सम्झाए, ‘बुवा, हुन त मेरो पनि पाइलटै बन्ने इच्छा हो। तर अवस्थाले गर्दा मैले आँटिनँ। कसरी हुन्छ भाइलाई पठाइदिऊँ।’
छोराहरूको निर्णयपछि बुवाआमा खर्चको जोहो गर्नतिर लागे। सञ्चयकोषमा जम्मा भएको पैसा रित्याए। भएको अलिकति जग्गा बेचबिखन गरे। नपुगेको ऋण सापट लिए। एवम् रितले उत्सव फिलिपिन्स उडे।
उत्सवको उडान यात्रा
भाइलाई पाइलट बनेको हेर्न उमेश आतुर थिए। उत्सव मेहनती रहेछन्। समयमै पढाइ सके। लाइसेन्स पनि सजिलै पाए। उमेश सम्झिन्छन्, ‘सबै काम फटाफट भयो, उसले जागिर पनि सजिलै पायो।’
चौरजहारीमा देखेको त्यो सपना साकार हुँदा उत्सव रौसिएर भन्थे, ‘जहाज भनेको त ट्विनअटर नै हो।’
हुन पनि बालखमा चौरजहारीमा ओर्लिने नेपाल एयरलाइन्सको ट्विनअटर उत्सवका लागि उत्प्रेरक बनेको थियो। पढाइमा उत्सव तिक्ष्ण। चौरजहारीमा विद्यालय तह छात्रवृत्तिमै पढे। पछि उच्च शिक्षाका लागि काठमाण्डौं आउँदा पनि छात्रवृत्तिमै प्लस टु पढ्ने अवसर पाए।
उत्सवको निडरपन नै सपनाको उडान साकार बनाउने माध्यम बनिदियो। बुवा मणिराम स्मृतिमा छोराको आँटिलोपन सम्झन्छन्, ‘एक्लै जहाँ पनि हिँडिदिने। आँटिलो काम गर्ने स्वाभावका कारण ऊ आफ्नो सपना साकार पार्न अहोरात्र लागेको थियो।’
उत्सवको मृत्युपर्यन्त उमेशलाई भाइका साथीहरू सुनाउँछन्, ‘पढाइमा उसको समर्पण र लगनशिलता पाइलट पढ्दा पनि उम्दा देखियो।’
उसको एकाग्रताले बुवाआमाको मन पनि पग्लिएको हुनुपर्छ। त्यसैले भएको जायजेथा बेचेर बुवाआमा उसलाई पढ्न पठाउने निचोडमा पुगेका थिए। दाजुभाइ बीचमा पनि गज्जबको तादात्म्यता थियो। उत्सवका लागि दाइले सपोर्ट गर्दा पछि दाइले भाइको सहयोग पाए। भाइकै सहयोगले अहिले उमेशले पनि सपनाको उडान भर्न अन्तिम अध्यायमा छन्।
उत्सवको सिरियस जोक
पाइलट पेसा सुरक्षित छैन भन्दै गर्दा उत्सव प्रतिवाद गर्दै भन्थे, ‘मर्न त एक दिन सबै जना मर्ने नै हो। केही भएर प्लेन उडाउँदा उडाउँदै मरेछु भने पनि मर्छु। तर म पाइलटै पढ्छु।’
उत्सवको ठट्टा आज दुर्भाग्यवश् सत्य सावित भएको छ।
ठट्यौलीमा साथीहरूसँग उत्सव भन्थे रे, ‘म मरेँ भने अरू केही भएर मर्दिनँ, प्लेन क्र्यासमै मर्छु।’
भाइको त्यो अभिव्यक्तिमा उमेश दुःख मान्दै भन्छन्, ‘त्यस्तो हँसिमजाक पनि कसैले गर्नुहुन्छ?’
सबैले सुरक्षित छैन भनिरहँदा उत्सवलाई आफ्नो सपना साकार हुनबाटै रोकिरहेको भान हुन्थ्यो सायद! त्यसैले उनी त्यो सिरियस जोक गर्थे। सपना साकार पार्दा दुर्घटना नै परे पनि सहुँला भन्ने लाग्थ्यो होला।
तथापि उत्सवको त्यो जिस्किरहने स्वाभाव फिलिपिन्सबाट फर्किएपछि भने परिवर्तन भएको थियो। घरमा उत्सव बदलिएकाबारे आमासँग उमेश कुरा गर्थे। झन् नेपालमा प्लेन नै उडाउन थालेपछि उत्सवमा गम्भीर बदलाव आएको थियो।
एउटा टर्निङ प्वाइन्ट फिलिपिन्समा छँदा उत्सवको खुट्टा भाँचिनु पनि रह्यो। त्यहाँ उसलाई सघाउने कोही नहुँदा अत्यन्त गाह्रो भएको सम्झिन्छन् उमेश। त्यस क्षणले पनि उत्सवको आनीबानी धेरै फेरियो।
उड्नुअघि उत्सवले भने, ‘हराइन्छ की क्या हो?’ फ्लाइटमा जानुअघि हरेक बिहान उत्सव दाइलाई फिलिपिन्समा म्यासेज पठाउँथे। त्यस दिन पनि अपेक्षित म्यासेज पठाए, तर त्यो म्यासेजमा संशय थियो।
आखिरीमा सपनाको त्यो उडानमा सदाका लागि विलय हुनुअघि पठाएको त्यो म्यासेज, दुर्भाग्यवश अन्तिम म्यासेज बनिदियो। पोखराबाट उडेको जहाज वेपत्ताको खबर क्षणभरमा भाइरल बन्दै थियो, उता फिलिपिन्समा भने उमेश आफ्नै दिनचर्यामा व्यस्त थिए। एक्कासि फेसबुकको टाइमलाइनमा ‘तारा एयरको जहाज बेपत्ता’ भन्ने खबर पढे।
भाइको पोखरा—जोमसोम रुटबारे उमेशलाई थाहा थियो। मनमा चिसो पस्यो।
लगत्तै म्यासेन्जर खोले। पानी परिरहेको ३ सेकेन्डको भिडियो पठाउँदै उत्सवले ‘वेदर यस्तो छ, कसरी उड्ने होला आज? हराइन्छ कि क्या हो!’ भन्ने सन्देश छाडेका रहेछन्।
त्यसपछि उमेशले म्यासेज पठाउन प्रयास गरे, तर त्यो म्यासेज सदाका लागि अनडेलिभर्ड भयो।
केहीबेरपछि फलोअप समाचार आयो, ‘हराइरहेको जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।’
‘…तर उत्सव त वसन्त लामासँग उड्थे!’ त्यो जहाजमा उत्सव थिएनन् कि भन्ने भयो। जो भए पनि उमेशको छटपटी रोकिएन।
पाइलट कोर्स गरिरहेका नेपाली विद्यार्थीले जहाज हराएको समाचार झुठो होस् भन्ने कामना गरिरहे। तर समाचार पुष्टि हुँदै जाँदा उत्सव नै भएको पक्का भयो। त्यसपछि उमेशले समाचार हेर्नै छाडिदिए। उमेश बेस्सरी चिच्याएछन्। भेला भएका साथीभाइले उनलाई सम्हाल्दै थिए। घरीघरी चौरजहारीबाट आमाले फोन गरेर उमेशलाई ‘नडरा भाइ आइहाल्छ नि’ भन्थिन्।
त्यस क्षण उमेशको चिच्याहट रोकिएको थिएन। भावविह्वल अवस्थामा भाइसँग बोलेको झल्झली उनको आँखै अगाडि नाचिरहेको थियो। एकै निमेषमा सारा खुसी उल्टिएको थियो। सपनाको उडान भरिरहेको प्यारो भाइको प्राण झ्याप्पै निभेको थियो। त्यो एकै सटमा ठोक्किएको विमानले चौरजहारीबाट देखेको सपनाको उडान आकाशमै विलाएको थियो।
भाइको मृत्युको खबरले उमेश बोल्न सकिरहेका थिएनन्। निकैबेरको त्यो रुवाबासीले अन्ततः एउटा कोलाहलयुक्त सन्नाटा ल्यायो। विस्तारै उमेश सम्हालिए।
‘म नै यस्तो भएँ भने मेरा बुवाआमालाई कसले सम्हाल्छ?’
उमेशले भोलिपल्टै नेपाल फर्किने टिकट काटे। भोलिपल्टै चौरजहारीबाट बुवाआमा काठमाडौं आइपुग्ने भए। अनि प्राण पखेरू उडिसकेको उत्सवको मृत शरीर पनि नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौं आइपुग्दै थियो।
दाजुभाइको भ्रातृत्व
उमेश र उत्सव दाजुभाइ कम साथीभाइ ज्यादा थिए। लगाउने लुगाफाटोदेखि साझा कुरा सबै सेयर गर्थे।
बुवाले ‘हाम्रो शेषपछि तँ नै उसको बुवा होस् भाइको ख्याल गर् है’ भनेको सम्झदै उमेश भन्छन्, ‘भाइलाई सायदै एक्लो छाँडे हुँला!’
उत्सवले खाएको नखाएको ख्याल गरिरहन्थे उमेश। १३ दिनसम्म पशुपति आर्यघाटमा शोक बारेर बस्दा उमेशलाई भाइसँग जोडिएका अनेक सम्झना ताजा भएर आइरहे। भाइका साथीहरू भेट्न आउँदा, जहाजसँग जोडिएका उत्सवका यादहरू सुनाउँथे। उसका फोटो पठाउन खोज्थे, तर उमेशलाई हेर्ने आँट थिएन।
भाइको मृत अनुहार हेर्न, मुखमा पानी दिन पनि उमेशले सकेनन्।
शोकमा बसिरहँदा भेट्न आउने आगन्तुकले जिज्ञासा राख्थे, ‘भाइको दुर्घटना हुँदाहुँदै तँ पाइलटै पढ्छस् त?’
उमेशलाई पनि यस्तै लागेको थियो। भाइ जहाज दुर्घटनामा दिवंगत भएपछि उमेश तीन वटा प्लेन चढेर नेपाल आए। यता नेपालमा पनि बुवाआमा प्लेनबाटै काठमाडौं ओर्लिए। उमेशका अनुसार प्लेन वा यातायातका साधनलाई नकारेर बाँच्न सकिँदैन आजको युगमा। जहाजै नचढ्ने भन्ने हुँदैन।
भाइको दुर्घटनाले फिलिपिन्स नफर्किने गरी सबै सामान लिएर नेपाल ल्याएका उमेश अहिले चाँडै पढाइ सक्न फिलिपिन्स फर्किसकेका छन्। उमेशलाई आमा सम्झाउँदै ‘जे नहुनु थियो, भइसक्यो’ भन्दै काबुबाहिरको परिस्थिति भएकाले विस्मात नगरी चाँडै पढाइ सकेर फर्किन आग्रह गर्छिन्।
आमाको हौसलाले उमेशलाई झन् चाँडै प्लेन उडाउने रहर जागेको छ।
उत्सवको सपना
एउटै क्षेत्रमा भएकाले दुवै दाजुभाइका सपना पनि लगभग साझा थिए। गाउँमा दुःखै देखेर हुर्किएकाले एक दिन बुवाआमालाई छोराहरूको प्रगतिमा गौरवान्वित बनाउनुपर्छ भन्थे दाजुभाइ।
‘तर आज उसले मलाई एक्लो बनाएर गयो,’ पीडा मिश्रित स्वरमा उमेश भन्छन्, ‘यो सब तैंले नै पूरा गर् भनेर गएको सम्झन्छु म अहिले।’
भाइको अभाव उमेशका लागि जीवनभर रहनेछ। भाइ नहुँदा ठूलो सपोर्ट गुमेको बताउने उमेश भोलिका दिनमा जहाँ पुगे पनि भाइ भइदिए हुन्थ्यो भन्ने शून्यताले सताउनेछ। भाइ हुँदाको आँट र भरोसा अब उमेशलाई एक्लै जुटाउनु छ।
उमेशले भविष्यमा उडाउने जहाज अब आफ्ना लागि मात्र हुने छैन। क्याप्टेन हुँदा होस् वा हवाई क्षेत्रमा जे गर्दा पनि त्यहाँ भाइको सपना साथै हुनेछ। पहाडी भेगमा उड्नु पर्दा वास्तवमा उत्सव खुसी थिएनन्।
च्याटमा दाइसँग उत्सव भन्थे, ‘फ्लाइङ आवर्स पुर्याएपछि म नेपाल बस्दिनँ दाइ।’
बुवाको भनाइ स्मरण गर्दै उत्सवको निष्कर्ष थियो, ‘हवाई उडान विशेषगरी स्टल, नेपालका लागि सेफ छैन।’
उत्सवले दाइलाई कसैगरी पनि एटिआर विमान उडाउन ट्रंक रुट रोज्न भनेका थिए। स्टल चाँहि दिमागमै नराख्न भनिरहन्थे। स्टल रुटमा पहाडी विमानस्थलमा उडान गर्नु जोखिम रहेछ भन्ने उनले बुझिसकेका थिए। त्यही शब्द हरक्षण कानमा गुञ्जिरहँदा भाइले आफ्नो काममा हिम्मत थपिरहेको महसुस हुन्छ उमेशलाई। काँधमा आइपरेको जिम्मेवारीमा भाइको सपना पनि थपिएको हुँदा उमेशले पाउने कुनै पनि अवसरमा अब भाइको हिस्सा पनि जोडिनेछ।
राजेन्द्र थापाको रचनामा प्रेमध्वज प्रधानले गाएको गीतमा ‘फूलहरू पर लगेर, तारा जुन छोपिदिएर र याद आउने ती तमाम गीतहरू बन्द गरेर मात्र उनको याद मेटिएला’ भने जस्तै भाइको याद आउने चिजहरू उमेशका लागि अनेक छन्। भाइ पढेकै स्कुलमा उमेश पढ्दै छन्। त्यहाँ टाँसिएका भाइका तस्बिर, उही कक्षाकोठा, उही प्रशिक्षक र भाइले जुन प्लेन उडाएर पाइलट बन्यो, उमेशले पनि उही प्लेनमा अभ्यास गरिरहेका छन्।
‘अब हामीले भाइलाई बिर्सन कि त आफैं सकिनु पर्यो! नभए आकाशमा उडने हर जहाजले भाइको याद ताजा बनाउँछन्,’ उमेश टोलाउँदै भन्छन्, ‘उँभो हेर्दा उडिरहेका तारा एयरको जहाजमा भाइकै सम्झना हुनेछ।’
मन बलियो बनाएर उमेश निष्कर्षमा पुग्दै भन्छन्, ‘भाइको सम्झनाले अब म दुखी भएर बाँच्न चाहन्नँ। कि त यो फिल्ड नै छाड्नु पर्यो!’
अन्यथा उमेशका लागि यहीँ शिराबाट जीवनको अर्काे अध्याय सुरू गर्नुको विकल्प छैन।
सोचेझैं जिन्दगी रै’नछ
पोहोर साल भदौमा फिलिपिन्स उड्नुअघि एयरपोर्टमा उमेशले बिदाइमा हल्लाएका हात भाइसँगको अन्तिम भेट बन्यो। त्यहाँ उनीहरूले फोटो पनि खिचे। फिलिपिन्स फर्कनुअघि फेसबुकमा उमेशले त्यो फोटो अहिले आफ्नो प्रोफाइल पिक्चर बनाएका छन्।
एयरपोर्टको त्यो अन्तिम भेटमा उत्सव फिलिपिन्स आएर दाजुभाइ सँगै प्लेन उडाउनु पर्छ भन्थे। तर भावीको लेखान्त अर्कै रैछ। जिन्दगी सोचेझैं सायद हुन्थ्यो भने उत्सवले अहिले पनि हर बिहान फ्लाइट अपडेट पठाइरहेका हुन्थे। उता फिलिपिन्सबाट उमेशले पनि समुद्री तटमा प्लेन उडाउन थालेको फोटो, भिडिओ सेयर गरिरहेका हुन्थे।
भाइको वियोगमा विक्षिप्त परिवार यतिबेला आ-आफ्नै कर्ममा फर्किसकेका छन्। उमेशलाई जीवन एउटा नियमित प्रक्रिया मात्र लाग्न थालेको छ। फिलिपिन्स उड्नुअघि उनले सुनाए, ‘बाँचेर वा मरेर जीवन नरोकिने रहेछ। यो चलिरहन्छ। मात्र त्यसमा हामी समाहित हुनुपर्छ।’
भविष्यमा आफ्ना हर सफलतामा भाइको पनि हिस्सा जोडिने हुँदा भाइ नभएरै पनि भाइ भएको महसुस उमेशले गरिरहने छन्। अनि सपनाको उडानमा उमेश एक्लै निश्चय नै उड्ने छैनन्। अलबिदा उत्सव! सेतोपाटीबाट