कोरोना भाइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयंले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताए । उनले भने, “एक दुई दिनभित्र सरोकारवालासँग बैठक राखेर रोकथामको प्रयास गर्न लागेका छौँ ।”
एकैदिन १९ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा आज एकै दिन १९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन पद्धतिबाट ४१४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आइतबारसम्म १३ जना सक्रिय बिरामी (एक्टिभ केस) रहेकामा आज एकै दिनमा यो सङ्ख्या बढेर २३ पुगेको छ । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार ८१० सङ्क्रमित पुगेका छन् ।
कोरोना भाइरसको आशङ्कामा आइतबार २२३ र आज ४१४ जनाको स्वास्थ्यको नमूना परीक्षण गरिएको थियो । गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । सङ्क्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला दिनमा पुनः बढ्न थालेको छ । छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशका विभिन्न सीमानाकाबाट आइतबार २८२ र सोमबार ३७७ जना नेपाल भित्रिएका छन् । सीमानाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको एन्टिजेन विधिबाट स्वास्थ्यको नमूना परीक्षण हुने गरेको छ ।