फेद टेकेर त हो
उभिनुपर्ने हिमाल
फेदको पनि अस्तित्व
बोकेर साथै चुलीमा,
हावाका चिसा स्याँठहरूमा
एक्लै ठिङ्ग उभिएर
सहिरहन्छ चोटहरू,
गर्दैन गुनासो कुनै
गर्दैन चित्कार पनि
र सराप्दैन जुनी
आफ्नो धिक्कार भनी,
तर पनि गुनासो
फेदको सधैं रहन्छ
बोकेको हर्जाना
हरबखत मागिरहन्छ,
आफैलाई चुँडालेर
हिमचर्मबाट
तिरो तिरिरहन्छ
र कालो पहाड बनेर
फेदको श्वेत तनमा
हाँसेको अनुहारमा
आफूलाई भेटिरहन्छ,
यात्रीले कुल्चन्छन्
उसको शिर
तर पनि
ऊ उसलाई
गौरवले टाँसिरहन्छ
र
यात्रीहरूको
प्रफुल्लित सफलतामा
अनेक चोटका बाबजुद
उसै गरी
आदिम कालदेखि
सगौरव हाँसिरहन्छ,