गत आर्थिक वर्षमा दाङ र रूकुममा १९ वटा झोलुंगे पुल बनेका छन्। पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा १९ वटा पुलहरू निर्माण भएका हुन।
दाङ, रूकुम पूर्व र रूकुम पश्चिम आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत निर्माण गरिएका हुन। अहिले रोल्पासहित चार जिल्लामा थप २७ वटा पुल बनिरहेको प्रतिष्ठानका अध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रूकुम पूर्वमा १२, दाङमा १४ र रोल्पामा एउटा झोलुंगे पुल निर्माणाधीन छन्। प्रतिष्ठानले गरेको वार्षिक योजना तर्जुमा कार्यक्रममा अध्यक्ष केसीले ती पुलहरू निर्माण भएपछि हजारौं नागरिकलाई आवात-जावात र बस्तुभाउ ढुवानीमा सहज हुने आशा व्यक्त गर्नुभएको छ ।
गत आर्थिक वर्ष दाङमा पुल निर्माणको लागि ३ करोड २० लाख र रोल्पाको लागि ३५ लाख बजेट आएको थियो। रूकुम पूर्वमा पुल निर्माणको लागि गत आर्थिक वर्षमा २ करोड २५ लाख र पश्चिम रूकुमका लागि १ करोड ६५ लाख बजेट आएको थियो।
चालु आर्थिक वर्षमा २२ वटा झोलुंगे पुल निर्माणको लागि बजेटमा समावेश भएर आएको छ।