सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।
कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरव्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानकारी गराएका छन् ।
उनले मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको बिचल्ली भएका समाचारहरू सार्वजनिक भैरहेको उल्लेख गर्दै त्यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको बताएका छन् ।
अझै पनि धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको भन्दै उनीहरुलाई एक साताभित्र उजुरी गर्न आग्रह गरिएको छ ।