प्रतिनिधि सभाको आज बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि पेश हुने भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन विधेयक पुनर्विचारका लागि बिहीबार बिहान ११ बजे बस्ने बैठकमा पेश गर्ने तयारी गरेका छन्।
पुनर्विचारका लागि पेश भएपछि विधेयकमाथि प्रतिनिधि सभा बैठकमै छलफल हुनेछ। छलफलमा सांसदहरूले आफ्नो धारणा राख्न पाउनेछन्। लगत्तै सांसदहरूले राखेको धारणामा गृहमन्त्रीले जवाफ दिनेछन्।
नागरिकता विधेयकमाथि संशोधनका लागि प्रतिनिधि सभाको समितिमा पठाउने बाटो सरकारसँग उपलब्ध छ।
यसअघि राहदानी विधेयकमा पनि सांसदहरूले संशोधन हाल्न पाएका थिएनन्। यसपटक सोही नजिर प्रतिनिधि सभाले पछ्याउन लागेको हो।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक बिहीबार नै पारित गर्ने गरी प्रतिनिधि सभाले कार्यसूची तयार पारेको छ।
गृहमन्त्री खाणले आजकै बैठकमा विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा उल्लेख छ।