नेपाल बन्दकाे आंशिक प्रभाव

नेपाल बन्दकाे आंशिक प्रभाव

फाइल तस्वीर

विभिन्न चारवटा राजनीतिक समूहले आज आह्वान गरेकाे नेपाल बन्दका कारण देशका कतिपय जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ । बन्दका कारण लामाे तथा छाेटाे दूरीका सवारीसाधन छिटफुट रूपमा मात्रै सञ्चालनमा आएका छन्  भने विद्यालयहरू सञ्चालनमा आउन सकेका छैनन् ।

बन्दकर्ताले काठमाडाैंसहित देशका केही स्थानमा सवारीसाधनमाथि ताेडफाेड गरेका छन्  । देशका ६ जिल्लामा बम जस्तै शंकास्पद वस्तु राखेर जनजीवन आतंकित पार्ने प्रयास गरिएकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार अहिलसम्म काभ्रे, कास्की, बर्दिया, कैलाली, चितवन र बैतडीमा शंकास्पद वस्तु भेटिएकाे जानकारी दिए । काभ्रेमा भेटिएकाे शंकास्पद वस्तु नेपाली सेनाले डिस्पाेज गरिसकेकाे उनले जानकारी दिए ।

काठमाडाैं उपत्यकाबाट अहिलेसम्म १९ जना बन्दकर्तालाई पक्राउ गरिकाे छ । प्रवक्ता राईले काठमाडाैंबाट १८ र ललितपुरबाट एक जनालाई बन्द गराउँदै हिँडेका बेला पक्राउ गरिएकाे जानकारी दिए ।

चारवटा कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

तीन बुँदे राजनीतिक सहमतिविपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको तथा एमसीसी, भ्रष्टाचार र महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार