मुसिकोट । रुकुम पश्चिममा मतदाता नामावली अध्यावधिक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आगामी मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नामावली अध्यावधिक र दावि विरोध सम्वन्धि सरोकारवालाहरु सँग मंगलबार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
निर्वाचनको बेला मतदाता नामावलीको विषयमा विभिन्न किसिमका समस्या देखिने गरेकाले निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्ला निर्वाचन कार्यालयले सो कार्यक्रमको आयोजना गरेको हो । मतादाता नामावलीमा दोहोरो नाम पर्ने, मृत्यु भएको नाम पनि नामावलीमा देखिने, वसाईसराई गरेकाहरुको पनि दुई ठाउँमा नामावली देखिने समस्याको बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा सहभागि विभिन्न राजनितिकदलका प्रतिनिधिहरुले अघिल्ला निर्वाचनको क्रममा मतदाता नामावलीमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । मतदाता नामावलीमा देखिएका समस्या र समधानको विषयमा जिल्ला निर्वाचन कार्यालयले गर्न सक्ने कामको बारेमा पनि छलफल भएको थियो ।
त्यस्तै जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले मतदाता नामावली अद्यावधिक, दावि विरोधको प्रक्रिया र जिल्लामा हुने कार्यक्रमको बारेमा पनि सहभागिलाई जानकारी दिनुभएको थियो ।
यही भदौ १० गते देखि १२ गतेसम्म जिल्ला, पालिका र वडा सम्म मतदाता नामावली टाँस गरि भदौ १३ देखि १५ गते सम्म प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पूर्ण मतदातालाई जानकारी गराइने छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्विनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी, त्रिबेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरुको को आतिथ्यता रहेको थियो ।