मनोज पौडेल
कोभिड-१९ को विश्वव्यापी महामारीले सम्पुर्ण विश्व नै त्रसित भइरहेको बेलामा म एक बिज्ञ नभए पनि यस रोगबाट बच्न र बचाउन, शारिरिक तथा मानसिक स्वास्थ्यलाई बरकरार राख्न तथा यस बिषम परिस्थितिमा पनि खुसी तथा सन्तुष्ट रही कसरी तनाव कम गर्न सकिन्छ भनेर मैले जानेका तथा पढेका कुराहरु पस्कनु पर्दछ भन्ने सामाजिक दायित्व महशुस गरि केही संक्षिप्त जानकारी पस्कने बिचार गरे।
कोरोना एक किसिमको भाइरसको समुह हो जसले सामान्य रुघाखोकी देखि severe acute respiratory infection सम्म गराउन सक्छ तथा मानिसको मृत्यु पनि हुन सक्छ। सन २०१९ मा पहिलो पटक देखिएको नोवेल (नयाँ) कोरोना भाइरस कोरोना भाइरसको एक प्रजाति हो। सन २०१९ मा देखिएको यहि नयाँ कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग नै कोभिड-१९ (novel corona virus disease-2019) हो। कोरोना प्रजातिकै अन्य भाइरस बाट बिगतमा सार्स र मर्स जस्ता महामारीहरु विश्व समुदायले खेपेको, सामना गरेको र निर्मुल पारेको हो तर ती भाइरस भन्दा अहिले देखिएको भाइरसको संक्रमण दर निकै बढी छ तर पनि यसले हुने मृत्यु दर सार्स र मर्स भन्दा निकै कम छ।
उच्च ज्वरो (१००.४°FFF भन्दा माथि) आउनु, सुख्खा खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु, कोभिड-१९ का मुख्य लक्षणहरु हुन तर पनि कति पय मानिसमा यस भाइरसको संक्रमण भएता पनि कुनै लक्षण नदेखिने, प्रभाव पार्न नसक्ने तर त्यसता व्यक्तिबाट यो भाइरस अन्य व्यक्तिमा सरि संक्रमण फैलाउन सक्दछ। कोभिड-१९ संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा उसको नाक तथा मुख बाट निस्कने छिटा बाट सजिलै सर्दछ। संक्रमित व्यक्तिलाई छुदा, हात मिलाउँदा, संक्रमित वस्तु छोएर आँखा, नाक मुख छुदा यो रोगले सजिलै संक्रमित गर्न सक्दछ।
यस रोगबाट कसरी सुरक्षित रहने?
- पटक-पटक साबुन पानीले कम्तिमा २० सेकेण्ड सम्म मिचिमिचि हात धुने
- जोखिमपूर्ण अवस्थामा साबुनपानीले मिचिमिचि हात धुने
- खोकीसकेपछि, हाछ्यु गरिसकेपछि
- बाहिरबाट घर फर्के पछि
- बिरामि, बृद्द र बच्चाको स्याहार सुसार गर्नु अघि र पछि
- बच्चा, बृद्द, असक्त तथा बिरामीलाइ खुवाउनु अघि र स्तनपान गराउनु अघि
- खाना खानु, तयार गर्नु र पस्कनु अघि
- चर्पीको प्रयोग गरे पछि र बच्चाको दिसा धोए पछि
- कुनै पनि किसिमको फोहर, पशु-पंक्षी तथा संक्रमणको सम्भावना रहेका कुनैपनि चिजको सम्पर्कमा आएपछि
- खोक्दा वा हाछ्यु गर्दा टिस्यु पेपर, सफा कपडा वा कुहिनाले नाक मुख छोप्ने, टिस्यु पेपर तुरुन्तै ढकनि सहितको डस्टबिनमा फाल्नुका साथै सुरक्षित विसर्जन गर्ने, र कपडा तुरुन्तै साबुन पानीले धोएर सुकाउने।
- जथाभावी नाक, आँखा, मुख नछुने
- अन्य व्यक्ति संग कम्तिमा तिन हात टाढा रहने, हात नमिलाउने
- भिड-भाडमा नजाने तथा घर बाहिर अत्यावश्यक कामका लागि निस्कनु पर्ने भएमा अनिवार्य मास्कको प्रयोग गर्ने
बिदेशबाट घर फर्किएकाले के गर्ने?
बाहिरी देशबाट घर फर्किएका तर संक्रमण नदेखिएका हरुले कोभिड-१९ को उच्च जोखिमलाई ध्यानमा राखि कम्तिमा १४ दिन सम्म पूर्णरुपमा घरमै छुट्टै कोठामा बस्ने, कम्तिमा १ मिटरको व्यक्तिगत दुरि कायम राख्ने गर्नु पर्दछ। यसो गर्दा संक्रमण देखिइहाले पनी परिवारका अन्य सदस्य संक्रमण हुनबाट बच्न सक्दछन। पोसिलो तथा प्रोटिन युक्त तथा रोग प्रतिरोधि क्षमता बढाउने खाना खाने, पटक पटक साबुन पानिले राम्ररी (हातको पछाडी,औँलाको काप, हत्केला, नङ भित्र कम्तिमा २० सेकेण्ड) मिचिमिचि हातधुने, आफूले प्रयोग गरेका सामाग्री (खाना खाने भाँडाकुँडा, टावेल अरुलाई प्रयोग गर्न नदिने), चर्पीको प्रयोग पछि अनिवार्य सफा गर्ने, सम्भावित लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारको लागि जाने।
मानसिक तनाव कसरी कम गर्ने?
यस बिषम परिस्थितिमा केहि तनाव लिनु स्वाभाविक हो। तर यो तनाव बढ्दै गए मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्दछ त्यसैले यसलाइ कसरी कम गर्न सकिन्छ भनेर थोरै चर्चा गर्नु उचित लाग्यो मलाइ। यो समयलाइ समस्या भन्दा पनि अवसरको रुपमा लिनु भयो भने तनाव निकै कम हुन्छ।
- सोच्नुहोस समयले हामीलाई घरमै बसेर राष्ट्र सेवा गर्ने, सामाजिक दायित्व निर्वाह गर्ने र दिनदुःखीको सेवा गर्ने राम्रो अवसर दिएको छ जुन हामीले कहिल्यै पाउने छैनौं।
- आफूलाई गर्न मन पर्ने तर समय अभावले गर्न नसकेका कुराहरु सौखहरु पुरा गर्नुहोस जस्तै; चित्रकोर्ने, खाना पकाउने, छोरा-छोरी संग खेल्ने रमाउने, नाच-गान गर्ने, कथा कबिता लेख्ने, खेत-बारीमा काम गर्ने आदि
- समाचार धेरै नसुन्नुहोस (दिनमा दुइ पटक बिहान-साँझ सुन्नु भए हुन्छ), आफुलाइ मनपर्ने वा हेर्न मन लागेको फिल्म हेर्नुहोस, मनपर्ने तथा रमाइला (कमिक्स, उपन्यास, आदि) किताब पढ्नुहोस गित सुन्नहोस, गेम खेल्नुहोस साथी-भाइ इष्टमित्रलाइ फोन गरेर रमाउनुहोस साथै सामाजिक सम्बन्ध बिस्तार गर्नुहोस।
- दैनिक योगा, ध्यान तथा exercise गर्नुहोस जसले तपाइको तनाव कम गर्नुका साथै स्वस्थ्य रहन सहयोग गर्छ।
- आफ्नो कन्ट्रोलमा नभएको कुरामा चासो नलिनुस-नदेखाउनुहोस जसले तपाइलाइ थप पीडा दिन्छ।
- आधिकारिक न्युज च्यानल तथा अनलाइन न्युज पोर्टल मात्र हर्नुहोस्। आधिकारीक निकायबाट आएको सुचना मात्र लिनुहोस्, अफवाहको भरमा नपर्नुहोस।
लकडाउन किन?
कुनै पनि संक्रामक रोगले महामारीको रुप लिएमा सो महामारिको चेन ब्रेक गर्नु अपरिहार्य रहन्छ। भाइरस आफै फैलदैन यो फैलनको लागी माध्यम चाहिन्छ जसलाइ हामी mode of transmission भन्छौं। अहिलेको हकमा मानिस नै रोग फैलाउन सक्ने प्रमुख माध्यम भएको सन्दर्भमा लकडाउन नै यस माहामारी बाट बच्ने, बचाउने तथा निरन्तर फैलिइरहेको यस भाइरसको चेन ब्रेक गर्न सकिने एक मात्र बिकल्प हो।
लकडाउन कहिले खोल्न सकिन्छ?
तल उल्लेखित कुराहरुको सुनिश्चितता भएमा मात्र लकडाउन खोल्न सकिन्छ।
- संक्रमणको अवस्था निर्मुल भएमा
- संक्रमित सबै पत्ता लागि उपचारको क्रममा रहेको र अन्य संक्रमित थपिन सक्ने सम्भावना नरहेमा
- रोगको आधिकारीक खोप तथा औसधी बनेको तथा सजिलै सर्वसुलभ रुपमा उपलव्ध हुने वातावरण सिर्जना भएमा
- राष्ट्रले जस्तो सुकै बिषम परिस्थितिमा पनि संक्रमित हुने तथा सम्भाव्य सबैलाइ औसधोपचारको लागि ग्यारेन्टी गर्न सक्ने जन साधन तथा सुबिधाको सु-निश्चितता भएमा
त्यसैले आजको अवस्थामा कृपया घरमै बसौं सुरक्षित रहौं, सरकारको आदेशको पालना गरौं, आफू वाँचौं र अरुलाइ पनि बचाऔं।
लेखक पौडेले करिव दुई दशक देखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहनु भएको छ।