चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । नगरपालिकाको वडा नं. ४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ ।
नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, ‘नगर क्षेत्रभित्र पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु ।’
लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको समस्या बढ्न थाल्दछ ।
डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस