रुकुम पश्चिमका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार तारक केसीको चुनाव चिन्ह ‘सुर्यमुखी’

रुकुम पश्चिमका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार तारक केसीको चुनाव चिन्ह ‘सुर्यमुखी’

मुसिकोट । रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका धेरैले उम्मेदवारी फिर्ता गरेका छन् । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका मान बहादुर नेपालीले जनार्दन शर्मालाई समर्थन गर्दै अनि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अन्यले पनि फिर्ता लिएपछि रुकुम पश्चिममा काँग्रेस उम्मेदवारबिहिन बनेको छ । माओवादी प्रभाव रहेको रुकुम पश्चिममा प्रदेश क र ख मा काँग्रेस माओवादीले एकएक सिट बाँडफाँड गर्ने र प्रतिनिधि सभामा जनार्दनलाई सघाउने हल्ला मात्र चल्यो, कार्यान्वयन भएन ।

त्यहि आधारमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि काँग्रेस माओवादी दुवैले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । नेपाली काँग्रेसका कार्यकर्तालाई अलमल पार्दै नेतृत्वले घर न घाटको बनाएपछि काँग्रेस कार्यकर्ताहरु आगो बनेका छन् । कार्यकर्ताले जिल्ला देखि केन्द्र सम्मको काँग्रेस नेतृत्वलाई आक्रोश पोखेपछि रुकुम काँग्रेसले बुधबार क्षमा माग्दै एक विज्ञप्ति समेत जारी गरेको छ ।

नेपाली काँग्रेसबाट प्रदेश सभा क्षेत्र नम्वर ख का उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदियो । यता बुधबार प्रदेश निर्वाचन क्षेत्र क बाट काँग्रेसका प्रदेश उम्मेदवार कृष्ण बहादुर रोकायले माओवादीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । यहि अभावलाई पुर्ति गर्दै नेपाली काँग्रेस रुकुमका युवा नेता तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य तारक केसीले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारीलाई निरन्तरता दिएका छन्, स्वतन्त्र तर्फबाट उम्मेदवार बनेर ।

नेपाली काँग्रेस पार्टीले कारबाहीको धम्की दिदा दिदै रुकुमका नागरिकको भावनालाई आत्मासाथ गर्दै कारबाहीको प्रवाह नगरि केसी चुनावमा जनार्दन शर्मा सँग प्रतिष्पर्धा गर्न अगाडि बढेका छन् । उनको उम्मेदवारीको रुकुम पश्चिममा व्यापक चर्चा र समर्थन बटुलेको छ । नेपाली काँग्रेस रुकुम पश्चिमको कडा आलोचना गर्दै युवाहरुले केसीको समर्थनमा माहोल बनाउन अभियान सुरु गरेका छन् ।

प्रतिनिधि सभा सदस्य पदका लागि रुकुम पश्चिममा तारक केसी र माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा बिच प्रतिष्पर्धा हुने चर्चा सुरु भएको छ । सम्भवतः केसीको लोकप्रियता र काँग्रेसबाट रुष्ट मतले उनलाई राहत दिनेछ । नेपाली काँग्रेसका सबै र अन्य बागी उम्मेदवारहरुले पनि उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवार जनार्दन शर्मालाई सहयोग गरेपछी अब शर्मा र केसी बिच नै प्रतिस्पर्धा हुने पक्का भएको हो ।

नेतृत्वको अनावश्यक हस्ताक्षेप, हरेक क्षेत्रमा बढ्दै गएको विकृति ,राजनीतिमाथिको व्यापार आदि कुराले आजित हुदै स्वतन्त्र ढंगले समाज र देशको विकास ,सुशासनको पक्षमा काम गर्ने उदेश्य आफुले बिद्रोह गरेको केसीले बताए । ३३ बर्षका केसी प्रखरवक्ताको रुपमा स्थानीय स्तरमा लोकप्रिय छन् ।

हारजित स्वभाविक भए पनि कलिलो उमेरमा नेतृत्वलाई चुनौति दिदै उनले गरेको आँटको चारैतिरबाट प्रशंसा भएको छ । केसीलाई बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यलयले चुनाव चिन्ह सुर्यमुखी प्रदान गरेको छ । आफूले सुर्यमुखी फुल निर्वाचन चिन्ह पाएकाले सबैले सहयोग गर्न केसीले सबैलाई आग्रह गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार