कांग्रेसका १० बागी

कांग्रेसका १० बागी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले लामो कसरतपछि भागबन्डा टुङ्ग्याएको थियो । तर, केन्द्रमा शीर्ष नेताले गरेको सिट बाँडफाँट कार्यकर्तालाई चित्त बुझेन ।

पार्टीले गरेको निर्णय चित्त नबुझाउने मध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसका नेता कार्यकर्ता रहेका छन् । गठबन्धनबीच भागबन्डा हुँदा अन्य दलको भागमा परेका निर्वाचन क्षेत्रमा ‘बागी’ उम्मेदवारी दिने सबैभन्दा धेरै नेपाली कांग्रेसका नेता कार्यकर्ता रहेका छन् ।

कांग्रेसका नेता कार्यकर्ताले सबैभन्दा धेरै बागी माओवादीविरुद्ध दिएका छन् । पार्टीले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनीहरूले उम्मेदवारी फिर्ता लिएनन् । गठबन्धन आवद्ध दल नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध कांग्रेसका १० जनाले बागी उम्मेदवारी दिएका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि कांग्रेस गठबन्धनप्रति इमानदार हुन नसकेको आरोप लागेको थियो । स्थानीय निर्वाचनमा पनि गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसकै नेता कार्यकर्ता धेरै थिए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसको बागीकै कारण माओवादीले गठबन्धनबीच भएको भागबन्डामा पाएको केही स्थान गुमाउनसक्ने आकलन हुने गरेको छ ।

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनका साझा उम्मेदवार हुन् । तर, गठबन्धनकै कांग्रेसका गणेश देवकोटाले प्रचण्डविरुद्ध उम्मेदवारी दिएका छन् ।

चितवन–३ मा माओवादीका भोजप्रसाद अधिकारी गठबन्धनका उम्मेदवार हुन् । भोजप्रसादविरुद्ध पनि कांग्रेसले नै बागी उम्मेदवारी दिएको छ । कांग्रेसका दिनेश कोइराला बागीका रुपमा भोजप्रसादविरुद्ध चुनावी मैदानमा छन् ।

माओवादीका अध्यक्षविरुद्ध समेत बागी उम्मेदवारी दिएका कांग्रेसी नेता कार्यकर्तालाई माओवादीका प्रभावशाली नेता जनार्दन शर्माविरुद्ध पनि उम्मेदवारी दिएका छ । रुकुम पश्चिमबाट गठबन्धनका साझा उम्मेदवार माओवादीका शर्माविरुद्ध तारक केसीले बागी उम्मेदवारी दिएका छन् ।

माओवादीका अर्का प्रभावशाली नेता चक्रपाणी खनाल ‘बलदेव’विरुद्ध पनि कांग्रेसकै बागी परेको छ । कपिलवस्तु–१ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार बलदेवविरुद्ध कांग्रेसका ललित गुरुङले बागी उम्मेदवारी दिएका छन् ।

गठबन्धनबीच भागवन्डा हुँदा मोरङमा माओवादीले दुई निर्वाचन क्षेत्र पाएको थियो । मोरङ–४ मा माओवादीका अमनलाल मोदी र मोरङ–५ मा पूर्वमन्त्री माओवादीका शिवकुमार मण्डल गठबन्धनका साझा उम्मेदवार हुन् । तर, मोदीविरुद्ध कांग्रेसका नवीन खवास र मण्डलविरुद्ध कांग्रेसकै महम्मद रेजा हुसेनले बागी उम्मेदवारी दिएका छन् ।

कैलाली–३ मा माओवादीका कृष्णकुमार चौधरीविरुद्ध कांग्रेसका नवीन बोहरा, बैतडीमा नरेन्द्र कुँवरविरुद्ध कांग्रेसकै केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् ।

झापा–२ माओवादीबाट गठबन्धनका साझा उम्मेदवारी हरि रानामगरविरुद्ध कांग्रेसकै कुमार भट्टराई र दोलखामा माओवादीका गंगा कार्कीविरुद्ध कांग्रेसकै विश्वनिधि पाख्रिनले गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएका छन् ।

बागी फिर्ता गराउने असफल प्रयास
कांग्रेसले सार्वजनिक अपील जारी गर्दै पार्टीका नेता कार्यकर्तालाई बागी फिर्ता गर्न निर्देशन दिएको थियो । समय ताकेरै कांग्रेसले उम्मेदवारी फिर्ता लिन भने पनि २–४ जना बाहेक अरुले उम्मेदवारी फिर्ता लिएनन् ।

बागी उम्मेदवारी फिर्ता नलिएकाहरुलाई कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ । तर, कांग्रेसले कारबाही नै गरेता पनि उनीहरुको बागी उम्मेदवारीको प्रत्यक्ष मार माओवादीका उम्मेदवारलाई पर्ने देखिन्छ ।

कांग्रेस नेता कार्यकर्ताले माओवादीका उम्मेदवारविरुद्ध मात्र नभएर गठबन्धनमा आवद्ध अन्य दलका उम्मेदवारविरुद्ध पनि उत्तिकै बागी उम्मेदवारी दिएका छन् । कांग्रेसका नेता कार्यकर्ताको बागी उम्मेदवारीकै कारण गठबन्धनको निरन्तरतामै आन्तरिक रुपमा प्रश्न उठ्न थालेको छ । दृष्टिबाट

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार