आज प्रतिनिधि र प्रदेशसभाका लागि देशभर मतदान हुँदै

आज प्रतिनिधि र प्रदेशसभाका लागि देशभर मतदान हुँदै

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज आइतबार बिहान ७ देखि बेलुकी ५ सम्म देशभर मतदान हुँदैछ।

दोस्रो संविधानसभाले २०७२ असोज ३ गते पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुरूप हुन लागेको यो दोस्रो आमनिर्वाचन हो। यो निर्वाचन आइतबार एकै चरणमा हुँदैछ। यसअघि २०७४ सालमा संघीय र प्रदेशसभाको चुनाव दुई चरणमा भएको थियो।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

चुनावमा खटिएका कर्मचारीले आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने छन्।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

मतदाताहरूले प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी चारवटा छुट्टाछुट्टै मतपत्र खसाल्नुपर्नेछ। सबभन्दा पहिला प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदान गरेपछि समानुपातिकका लागि भोट हाल्ने मतपत्र प्राप्त हुनेछ। त्यो मतपत्र बाकसमा खसालेपछि प्रदेशसभाको प्रत्यक्षतर्फ र त्यसपछि समानुपातिकतर्फ भोट हाल्नुपर्नेछ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १ सय ९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइ गरी ढुवानी गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार