रुकुम पश्चिममा केहिबेरमा मतगणना सुरु हुँदै

रुकुम पश्चिममा केहिबेरमा मतगणना सुरु हुँदै

मुसिकोट । रुकुम पश्चिममा मतगणनाको तयारी गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा ११ बजेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि आईतबार भएको मतदानको सोमबार रातीबाट मतगणना सुरु हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर १३९ मतदानस्थलबाट मतपेटिका संकलन भैसकेकोले मतगणनाको अन्तिम तयारी गरिएको छ ।

नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका सात मतदानस्थलमा माओवादी केन्द्रका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जि मत हालेको भन्दै पुनः मतदानको माग गरेर निवेदन दिएकोले मतगणना केहिबेर ढिला हुन पुगेको हो । मतगणनाको लागि दिउँसो बसेको सर्वदलिय बैठकमा एमालेले मतगणना सुरु गर्ने प्रक्रिया बहिष्कार गर्ने जनाएको थियो । अहिले राती ११ बजेसम्म बैठकको लागि एमालेलाई पर्खिएको जनाईएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर ११ बजेपछि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । दिउँसो एमाले रुकुम पश्चिमले दर्ता गरेको उजुरी उपर कानुनी प्रावधानले समेट्न नसक्ने भएकोले मतगणना प्रक्रियामा सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३९ मतदान केन्द्र रहेका छन् । जिल्लाभर एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको हो ।
मतदान गर्नेमा महिला ३१ हजार ५२७ र पुरुष २९ हजार मतदाता रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार