मुसिकोट । रुकुम पश्चिममा आज क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाएका छन । क्रिश्चियन धर्मावलम्बीहरुले जिल्लामा रहेका चर्चहरुमा प्रार्थना गर्दे, एकअर्कामा प्रेम प्रकट गर्दै र शुभकामना तथा उपहार साटासाट गर्दै क्रिसमस डे मनाएको रुकुमेली मिशन समाज रुकुम पश्चिमका अध्यक्ष अबिनाश बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सवै चर्चहरुमा परमेश्वरको बचन मनन गर्नुका साथै बिभिन्न कार्यक्रमहरु गरिएको छ ।
हरेक बर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले क्रिसमस डे मनाउँदै आएको छ । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको थियो । ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो ।