घाँस काट्दा काट्दा कुरोले लट्पटिएको
दाउराको भारीले चिथोरेर प्वाँलैप्वाल परेको
अगेनोको छेउमा खाना पकाउँदा पकाउँदा
धुइसो र भुइँको माटोले रङ्गिएको
जुठा भाँडा माझ्दा माझ्दा
भाँडाहरुका कातीका खाटाहरु परेको
भैँसीको भकारो सोहोर्दा सोहोर्दा
गोबरका छिट्काहरुले लत्पतिएको
कहिले सफा गर्न फुर्सद मिलेछभने
खरानीपानीमा उमालेर दाबलीले पिट्दापिट्दा
झुलोझैँ फुस्रो भएर लाज ढाकेको
मेरी आमाको धोती ।
दाउराको भारीले चिथोरेर प्वाँलैप्वाल परेको
अगेनोको छेउमा खाना पकाउँदा पकाउँदा
धुइसो र भुइँको माटोले रङ्गिएको
जुठा भाँडा माझ्दा माझ्दा
भाँडाहरुका कातीका खाटाहरु परेको
भैँसीको भकारो सोहोर्दा सोहोर्दा
गोबरका छिट्काहरुले लत्पतिएको
कहिले सफा गर्न फुर्सद मिलेछभने
खरानीपानीमा उमालेर दाबलीले पिट्दापिट्दा
झुलोझैँ फुस्रो भएर लाज ढाकेको
मेरी आमाको धोती ।
त्यही धोती,
कहिले खेतबारीमा लत्रिन्थ्यो
चाडपर्व वा मेलाखेलामा त्यही नै देखिन्थ्यो
भोजभतेर वा बिबाहवर्तनमा त्यही नै सुहाउँथ्यो
छोराछोरीको दिसापिसाब पर्दा पनि
त्यसले न कहिले चिसोको अनुभव गर्यो न गन्धको महसुस
बरु त्यो धोती असीम ममत्वले फुल्थ्यो
र गौरवले प्रफुल्लित हुन्थ्यो
त्यसैले नै मलाई जाडोमा गुट्मुट्याएर बेर्यो
गर्मीमा मेरा पसिनाहरु पुछिदियो
आमाको गर्भबाट यस धर्तीमा निस्कँदा
त्यही धोती नै मेरो प्रथम बिछौना बन्यो ।
कतिपटक सालनाल पर्योहोला त्यसमा ?
कतिपटक रगतले लत्पतियोहोला त्यो ?
आमाले कति हिउँदहरु पठाइन् होला त्यसले ?
कति गर्मीहरु कटाइन् होला त्यसले ?
आमाकै न्यानो आलिङ्गनमा
उनकै दुधका मुन्टाहरु चुस्दै
उनकै धोतीलाई ओछ्यान बनाउँदै
कति मिठो निद्रा निदाएँहुला म ?
आमाकै धोतीको फेरोको आडमा बामे सर्दै
उनको न्यानो काखमा कति लुट्पुटिएँहोला म ?
आमा ! तिम्रो धोतीमा मैले
मेरो जीवन , जवानी र सम्पूर्णता त पाएँ
युग भोगेर चाउरिएको तिम्रो शरीरमा
न मैले एकसरो नयाँ धोती फेरिदिन सकेँ
न मैले तिम्रो हृदयमा एक पित्को खुसी दिन सकेँ
छि ! तिम्रो म कति लाछी पुत्र रहेछु है आमा ?
मैलिएर ठाउँठाउँमा च्यातिएको होस् कि
धुइसो र माटोमा धसिएको होस्
गोबरले लत्पतिएको होस् कि
या कातीका खाटाहरु परेको होस्
जेसुकै भएरपनि गन्धयुक्त किन नहोस्
त्यो मेरो डसना थियो
त्यो मेरो सिरक थियो
जाडोमा त्यो मेरो उष्णता थियो
गर्मीमा त्यो मेरो शीतलता थियो
समग्रमा त्यो मेरो जीवन थियो
मेरो सम्पूर्ण संसार नै त्यही थियो
मेरी आमाको धोती
आमाको धोती ।