सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन

सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा जहाज दुर्घटनासम्बन्धी सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडिओ प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेको छ।

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडिओ आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको नभएको बताए।

उनले भने,‘सामाजिक सञ्जालमा आएका भिडिओ फुटेजहरू हामीले पनि हेर्‍यौं। त्यसमा कुनै सत्यता छैन। जुन एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन।’

उनले छानबिन समितिले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने बताए।

‘यसमा अरू कसैले पनि घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय हुँदैन। यो घटना भइसकेपछि यसको स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको हुनाले यस घटनालाई जोडेर कुनै पनि व्यक्तिले, महानुभावहरूले प्राधिकरणका पूर्व कर्मचारीहरू कसैले पनि यस बारेमा नबोल्दा उपयुक्त हुन्छ। यसमा कसैले पनि आफ्नो विज्ञता देखाउनुपर्ने आवश्यकता छैन। जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउनेछ’, उनले भने।

प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न समेत निर्देशन दिएको छ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरूलाई नबोल्न निर्देशन दिएको हो।

प्रवक्ता निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए।

उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताए।

उनले जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउने बताए।

प्रवक्ता निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारहरू बाहेक अरूलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरूलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरू जानकारीमा राख्न आग्रह गरे।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटिआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो।

७२ जना सवार जहाजमा अहिलेसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको खोजी कार्य जारी छ।

मृतकको पोस्टमर्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ। जहाजको ब्ल्याक बक्स फेला परिसकेको र काठमाडौं ल्याइ जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ।

सरकारले आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो।

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेका जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार