मुसिकोट । २८ औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधी पुरुष तर्फ दुर्गाबहादुर बुढाले हात पार्नुभएको छ ।
सोमबार भएको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुम पश्चिमका बुढाले प्रथम स्थान प्राप्त गर्नुभएको हो । उहाँले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गर्नुभएको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले एक लाख पुरस्कार राशी प्राप्त गर्नुभएको छ ।
त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोश्रो स्थान हाँसिल गर्नुभएको छ भने रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दुरी पार गरेर तेस्रो स्थान प्राप्त गर्नुभएको छ । निर्धारित दुरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याउनुभएको छ ।
दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिनुभयो ।
त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम हुनुभएको छ । उहाँले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गर्नुभएको छ ।
खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दोश्रो स्थान हाँसिल गर्नुभएको छ भने जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गर्नुभएको हो । प्रथम, दोश्रो, तेस्रो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकिय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आईरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो ।
म्याराथनको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतले उद्घाटन गर्नुभएको थियो ।
सानीभेरी गाउँपालिकाको बेलटापुमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री मङ्गल बहादुर शाही, राज्यमन्त्री उर्मिला विश्वकर्मा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य राजिव बिक्रम शाह, प्रदेश सभा सदस्य मिलन खड्का, वागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा लगायतको आथित्यता रहेको थियो ।
