संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जगेडामा रहेका २८ जना उपसचिवहरूको सरुवा गरेको छ । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी नपाएका उपसचिवहरूलाई बुधबार मन्त्रालयले सरुवा गरेको हो ।
मन्त्रालयले सरुवा भएका २८ जनामध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमध्ये मधेस प्रदेशका २२ वटा स्थानीय तहमा उनीहरूलाई सरुवा गरेको हो ।
सुर्खेत, बझाङ र डोल्पाका नगरपालिकामा एक/एक जना उपसचिव पठाएको छ भने २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।