पुथामा एकीकृत महिला स्वास्थ्य शिविर

पुथामा एकीकृत महिला स्वास्थ्य शिविर

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा दुईदिने एकीकृत महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाहरुका समग्र स्वास्थ्य समस्या समाधानका लागि पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय परिसरमा एकीकृत महिला स्वास्थ्य मेला तथा शिविर सञ्चालन गरिएको हो।

आजबाट महिला  पुनस्र्थापना केन्द्र (ओरेक) को सहकार्य र पुथा उत्तरगंगा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिबिरको पहिलो दिन २०० जनाले मेलाको अबलोकन गरेको ओरेक रुकुम पश्चिमकी जिल्ला संयोजक दिपा धितालले जानकारी दिनुभयो । उहाँका अनुसार १५० जनाको निशुल्क स्वास्थ्य जाँच गरिएकोमा ३६ जनाको निशुल्क भिडियो एक्सरे गरिएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञ सृजना हमालले महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण तथा उपचार गरिरहनु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपनि महिलाले घर परिवारमा नभनेर लुकाउने र त्यसले महिलाहरुको समग्र स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सबैखाले स्वास्थ्य समस्याको समाधानका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले बताउनुभयो ।

यस्तै शिविरमा मनोसामाजिक परामर्श, घरेलु उपचारमा जडीबुटीको सदुपयोग, महिलामा देखिने समस्याको पहिचान, पाठेघर खस्ने समस्याबाट जोगिने उपाय र समस्या नै आएको भए त्यसको उपचार र अप्रेशनका लागि उचित परामर्शका कार्यक्रम गरिएको छ।

शिविर भोलि पनि सञ्चालन हुने आयोजक पुथा उत्तरगंगा गाउँपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार