मुसिकोट । रुकुम पश्चिमका जग्गाको कित्ताकाट फुकुवा गरिएको छ । जिल्लाका ४ वटा स्थानीय तहमा करिब नौ महिनापछि जग्गाको कित्ताकाट खुला गरिएको हो ।
जेठ अन्तिम साताबाट बन्द गरिएको जग्गाको कित्ताकाट फागुन १५ गते सोमबारदेखि खुला भएको मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ओमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाट खुला गरिएको छ ।
कार्यालयका निमित्त प्रमुख खत्रीका अनुसार ४ स्थानीय तहले स्थानीय भूउपयोग कार्यविधि तयार गरेकाले कित्ताकाट फुकुवा गरिएको हो। अब जिल्लाका सानीभेरी र बाँफीकोट गाउँपालिकाले उक्त कार्यविधि तयार गर्न बाँकी रहेको जनाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गत जेठ अन्तिम साता प्राप्त निर्देशनअनुसार कित्ताकाट बन्द गरिएको थियो।
स्थानीय भूउपयोग कार्यविधि तयार नगरेसम्म कित्ताकाट बन्द गर्ने मन्त्रालयको परिपत्र आएकाले नौ महिना उक्त सेवा बन्द गर्नु परेको निमित्त प्रमुख खत्रीले बताउनुभयो। कार्यविधि बनाउन बाँकी रहेका दुई गाउँपालिकाले चाँडै नै कार्य सम्पन्न गर्ने सूचना प्राप्त भएको मालपोत कार्यालयले जनाएको छ।
भूउपयोग नियमावली, २०७९ को दफा १२ अनुसार जिल्लामा कृषि र आवासीय क्षेत्रको कित्ताकाट गरिने जनाइएको छ। यसअनुसार कृषि क्षेत्रका लागि कम्तीमा एक हजार वर्गमिटर र आवासीय क्षेत्रको जग्गाका लागि कम्तीमा १३० वर्गमिटर जग्गा हुनुपर्नेछ। तोकिएको क्षेत्रफलभन्दा कम जग्गाको कित्ताकाट नहुने नियमावलीले व्यवस्था गरेको छ।
स्थानीय भूउपयोग कार्यविधि तयार गर्नुअघि स्थानीय तहले स्थानीय भूउपयोग परिषद् गठन, क्षेत्र वर्गीकरणलगायत काम सम्पन्न गर्नुपर्छ। जिल्लाका चार स्थानीय तहले फागुन १५ भित्र कार्यविधि तयार गरेर कार्यपालिका बैठकबाट अनुमोदनसमेत गरेका छन्। उक्त निर्णय मालपोत कार्यालयमा प्राप्त भएपछि कित्ताकाट खुला भएको हो।
कित्ताकाट फुकुवा भएकै दिनदेखि मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ।


 
					
							
 
                             
                             
                             
                             
                            