काठमाडौँ – मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वाचन हुँदैछ।
मुलुकको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने जनाइएको छ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।
निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन्। संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ।
मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ। मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ। सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन्। कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो। दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन्।
भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो। उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ।