मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालनको तयारी पूरा भएको छ ।
शैक्षिक सत्र २०७९ को चैत्र ५ देखि १३ गतेसम्म हुने आधारभूत तह उत्तीर्ण परीक्षाको तयारी पूरा भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न ८ वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा विभिन्न १४ वटा सामुदायिक र ३ संस्थागत गरी १७ वटा विद्यालयका ७०२ जना विद्यार्थीहरू सहभागी हुने जनाइएको छ । विद्यार्थी सङ्ख्या बढी भएका शीतल मावि चौरजहारी, हिमालय मावि खोलागाउँ र माध्यमिक विद्यालय कोटजहारीमा सहायक केन्द्राध्यक्षको व्यवस्था समेत गरिएको छ ।
सम्बन्धित विद्यालयको शिक्षक निरीक्षक रहन नपाउने गरी प्राथमिक तहका शिक्षकबाट २४ जना निरीक्षक खटाइएको छ । त्यसैगरी विद्यार्थी सहभागी हुने परीक्षा केन्द्रमा अन्यत्र विद्यालयका शिक्षकमध्येबाट केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको व्यवस्था मिलाइएको छ ।
परीक्षा सञ्चालनका लागि आवश्यक पश्नपत्र र उत्तरपुस्तिकासहित केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरू परीक्षा केन्द्रमा पठाइ सकिएको छ । परीक्षा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ ।
यस्तै जुनसुकै ठाउँमा गएर पनि परीक्षा दिन सक्ने मनोबल कायम गर्न तथा स्वच्छ प्रतिस्पर्धामार्फत् विद्यार्थी क्षमताको लेखाजोखा गर्न केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरुमा पठन सांस्कृतिको विकास तथा विषयवस्तु प्रतिको लगावमा प्रेरित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            