वेरोजगार जीवनका असंख्य उकाली ओराली पार गरिसकेपछि २०५४ सालमा जागिरीमा प्रवेश गरी पाँच बर्ष नेपाल विधुत प्राधिकरणमा कम्प्युटर अपरेटर, २०५९ मा नेपाल सरकारतर्फ नियुक्ति भई १९ बर्ष नेपाल सरकार, शिक्षा सेवाको जागिरी र करीब १ बर्ष स्थानीय तहको कार्यालय प्रमुख हुने अवसर प्राप्त ।
उमेरले पनि ४७ बर्ष ३ महिना २३ दिन । संगै नियुक्ती भएका साथीहरुको २० बर्ष एक महिना अघि नै पुग्यो । तर म नेपाल विधुत प्राधिकरणतिर राजीनामा दिएर आउनुपर्ने भएकोले यता निजामतीतिर हाजिरी हुन केही ढिलो ।
अर्धसरकारी संस्थानको जागिरीबाट सरकारी जागिरीमा आवद्द भएपछि जिल्ला शिक्षा कार्यालय हुम्ला, जिल्ला शिक्षा कार्यालय रुकुम, शैक्षिक तालिम केन्द्र चौरजहारी, जिल्ला शिक्षा कार्यालय जाजरकोट र मुसिकोट नगरपालिका नै २० बर्षे अवधिमा मेरा कार्यक्षेत्र रहे ।
धेरै डुलघुम गर्ने बानी पनि रहेन । एकपटक रोल्पा सरुवा भएकोमा क्यान्सिल गराएर तालिम केन्द्रतिर हानियो । अनि जाजरकोट हुँदै पुन: जिशिका रुकुममा नै फिर्ती सवारी । आफ्नै जिल्ला र स्थानमा सेवारत रहनुपर्नाको मुख्य कारण भनेको जान परिवार लक्ष्मीको पनि यतै घरपायक विद्यालयमा स्थायी जागिर रहेको, घरको खेतीपाती अर्गानिक उत्पादन कृषि खेतीमा सरिक हुनुपर्ने, शहरवजारदेखि उहिल्यै विधुत प्राधिकरणको केन्द्रिय कार्यालय रामशाहपथ । खुला मन्च वाल्लोपट्टीका पहेँला ठुला घर अहिले त्यो भन्दा धेरै ठुला बने उतिखेर ति घरहरु गगनचुम्बी नै थिए । उतिखेर लिफ्ट चढ्न कि विशालबजार न्युरोड जानुपर्थ्यो कि विधुत प्राधिकरणमा । शहरको केन्द्र भागमा रहेको उक्त स्थानमा लामो समय कार्यरत रहंदा नै शहरदेखि वाक्कदिक्क चिवुसम्म भइसहेको कारण पुन: शहरतिर पस्न रहर लागेन । अनि सरुवाको चक्कर र ठक्करमा लागिएन । रोजियो सजिलो र शितलो जागिर घरपायक रुकुम तिरै ।
शिक्षा मन्त्रालयमा हामीजस्ता पहुँच नभएकाहरुको सित्तिमित्ति मागेको ठाउँमा सरुवा पनि हुँदैनथ्यो । शिक्षा मन्त्रालय अन्तर्गत हुँदा सरुवामा चरम राजनीतिकरण र संघसंगठन, विचौलीयाको दवदवा । संगठनको नाममा माओवादी निकट संगठनको जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको नेतृत्वमा पुगेको मान्ठ भएकोले अरु पार्टीका संगठनका साथीहरुले हेर्ने कुरा भएन । रुकुम जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने आदरणीय नेता जनार्दन शर्मा प्रभाकरले एक दुईपटक बिनारामलाई काठमान्डौँ तान्नुपर्यो भन्नेसम्म सुनेको थिएँ । एकपटक सार्वजनिक लेखा समितिको संयोजक हुँदा उहाँलाई भेट्न म उहाँकै कार्यकक्ष संसद सचिवालय सिंहदरवार पुगेँ । गगन थापासंग हुनुहुंदो रैछ । एकछिनमा भेट भो । मेरो साथमा पनि एकजना साथी हुनुहुन्थ्यो मेरा मित्र लक्ष्मण केसी । अनि उहाँले शिक्षामन्त्री चित्रलेखा यादवलाई भनेको छु । तिम्रो काठमान्डौँ सरुवा भएको छ । जाउ मन्त्रालयमा गएर पत्र बुझ् भनी पठाउनु भो । हँ कस्तो हुँदो रहेछ त सरुवा भनेको जिनिश भनी मनमा तिव्र चासो उत्पन्न भएकोले हाईहाई हाम्रा जनार्दन यस्ता हुनुपर्छ नेता भन्या भन्दै उहाँलाई सम्झंदै दौरिदै हुर्रिँदै उछिट्टिदै शिक्षा मन्त्रालय पुगेँ । भुत्राको सरुवा हुनु ! उता जाँदा त प्रशासन शाखाका कर्मचारी झर्किने फर्किने सन्किने मात्र । कम्प्युटर टाइप हान्ने एकजना ट्वाँटेसम्मलाई सोधेँ । चाल छैन । चुल छैन । काँतिबाट हुँदो मेरो सरुवा ! तैट यो सरुवा ठीक छैन । यस्ता सरुवा खानुहुन्न । अमिला टर्रा हुँदा रहेछन् भनी त्याँबाट निस्केको बैरागी कान्छो कहिल्यै स्वैच्छिक सरुवाको पछि लागेन । अनि उहाँलाई भेटेर माननीयज्यु । म त काठमान्डौँ बस्न नसक्ने भएँ । प्रदुषणको कारणले ज्यान पनि विरामी होलाहोलाजस्तो उपशंका भो भनी विदाबारी मागेर रुकुमै फर्किएँ ।
उतिखेर मेरा दुई मनमध्ये काठमान्डौँ सरुवा भए पनि के भो त एकपटक भन्ने मनचित्तमा लागेको विषय फेरि लोकसेवाका गाईड रटेर उपल्लो पदमा एक जम्प उफार हान्न सकिन्छ कि त भन्ने थियो । उहाँ नेताज्यु तर्फको कुरा सुन्दा बिनाराम उहिल्यैदेखि लाग्या मान्ठ हो । उलाई काठमान्डौँ तानेर माओवादी कर्मचारी संगठनको नेता बनाउनुपर्छ भन्ने थियो भन्ने सुनेको ! न सरुवा भो । न नेता भइयो । फिर्किएर फेरि गाउँमै टुप्लुक्क फिर्ता । नेता हुने भया त उहिल्यै उहाँहरुले शसस्त्र संघर्ष शुरु गर्दाखेरि नै २०५२ मा दौलत घर्ती, हेमन्त ओली, पुर्ण घर्ती, महेश्वर गहतराज, वसन्त शर्मा, जगप्रसाद शर्मा, राजकुमार शर्मा, यज्ञश्वर शर्मा, तेजबहादुर ओली, दलजित शेर्पाली जस्ता नेताको संगत गरेको मान्ठ थिएँ म । २०५२ मै केही महिना भुमिगत फरार समेत भई अहो यो काम त सकिन्न ज्वानौ भनी फर्किएको मान्ठ हुँ । न सुत्नु छ । न समयमा खानु छ । न भोक न निन्द्रा यस्तो काम गर्नुभन्दा त इन्डियातिर होटलमा भाँडा माझेर खानु वेश भनी त्याँबाट निस्केर सुईइयाँ लखनउ, दिल्ली, लोन्डा हुँदै पन्जीम गुवाका सम्राट होटलको किचनमा थुपारिएका जुडाभाँडासम्म २०५३ मा सिधै अन्तरदेशीय काज सरुवा भएको मान्ठ मै हुँ । उतिखेरै युवावस्थामा नसकिएको त्यो राजनीति अब झन् काँ गर्न सकिन्छ ! सकिदैन !
नेपालको संविधानको मस्यौदामाथि चौतर्फी चरम बहस छेरिएको बेला । म स्वयमले पनि हुन्न हुन्न । नेपालमा संघियता टिकाउन व्यवस्थापन गर्न गाह्रो हुन्छ । आर्थिक रुपले पनि सकिन्न । गणतन्त्र आइगो । असल विकेन्द्रिकरण गरौँ । संघियताको लफडातिर नलागौँ । नेपाललजस्तो देशमा बलीयो केन्द्र सरकार र ७५ वटै जिल्ला तथा गाविससम्मै जनसेवाका अधिकार पुगेको असल विकेन्द्रिकरण भए काफी हुन्छ भन्दाभन्दै संघियता ल्याइयो । हुन्न भन्दा भन्दै आइ नै सकेपछि देशको नागरिक, कर्मचारीले संविधान र संघियता मान्नै पर्यो । शिक्षा मन्त्रालय अन्तर्गत कर्मचारी सरुवामा हुने चरम राजनीतिकरण र ट्रेडयुनियनवादको कारण संघमा रहेर यो सरुवाको चक्कर लफडा गर्न सकिन्न । जिल्ला शिक्षा कार्यालय खारेज हुने निर्णय भइसकेको थियो । आफुलाई चाहिने घरपायक जागिर । अनि अब सकिन्न ज्वानौ भनी घरपायक मुसिकोट नगरपालिका रोजियो र मुसिकोट नगरपालिका आएको पनि पाँच बर्ष बढी भैगो ।
उता शिक्षा मन्त्रालय मातहतको कर्मचारी यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै स्थानीय तह मातहतमा आइयो । यसमा फरकफरक खालका अनुभुतीहरु छन् । प्रणालीको कुरा गर्दा शिक्षा भन्दा संघीय मामिला मन्त्रालय कैयन गुणा अगाडी पाइयो । शिक्षाले चलाउने सफ्टवेयर, पोर्टलहरु र संघिय मामिलाले चलाउने सफ्टवेयर, पोर्टलहरुको तुलना गर्दा शिक्षा भन्दा संघिय मन्त्रालय धेरै अगाडी छ । त्यस्तै केन्द्रिकृत शासनप्रणाली भन्दा संघीय शासनप्रणालीमा जनताले तत्काल सेवा, सुविधा पाउने सम्भावना धेरै नै बढी हुन्छ । काम गर्न सक्ने हो भने कर्मचारीहरुलाई पनि संघीय भन्दा स्थानीयको जागिरी धेरै अवसर, सम्भावनाले भरिपुर्ण छ । काम गर्ने अवसर स्थानीयमा धेरै भए पनि संघीय कार्यालयमा जस्तो सुरक्षित जागिरी स्थानीयमा छैन । स्थानीयमा सेवाग्राही, जनता, राजनीतिक नेतृत्व, सरोकारवालाबाट कर्मचारीलाई तत्काल निर्देशन, दवाव, प्रभाव, हस्तक्षेप उस्तै परे भौतिक आक्रमण मुड्की, लठ्ठी र यस्तै अन्य प्रहार हुने सम्भावना प्रचुर अत्याधिक रहन्छ । स्थानीयमा जोखिम पनि धेरै उच्च छ । जतिखेर पनि जागिरी तरवारको धारमा । सानासाना मिस्टेकले पनि स्थानीयमा जागिरी सुँइकिन सक्छ । व्यक्तिगत, राजनीतिक प्रतिशोध, परस्पर वाझिएको स्वार्थले पनि स्थानीयको जागिरी उच्च जोखिम रेड जोनमा रहन्छ । कहिलेकाहीँ राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरुको आकांक्षा, इरादा विपरित कार्य हुनजाँदा जतिखेर पनि आक्रमण, आरोप, आक्षेप, हप्की, दप्की, खप्की खेप्न तयार हुनुपर्छ स्थानीयमा ।
अरुको जस्तै मेरो सन्दर्भमा पनि जागिरी नै हाम्रो जिविकोपार्जनको मुल आधार हो । २० बर्ष पुरा भई पिल्सिङ्ग पाकेपनि स्वैच्छिक राजीनामा गरी जागिरी छोड्ने अवस्था सम्भावना छैन । सम्भवत् उमेरको कारण नै ५८ वा ६० मा अनिवार्य अवकाशमा गइन्छ होला । जागिरीका बाँकी जीवनहरु पनि मुलत: घरपायकतिर नै बित्नेछन् । गाउँको अर्गानीक उत्पादन नखाउन्जेल यो ज्यान यत्तिकै पनि कायम नरहने सम्भावना छ । होटलमा खाएको दिन न पेट ठीक हुन्छ । न निन्द्रा ठीक । न त बिहान ट्वाइलेटमा थुप्रिएको गुको थुप्रो नै ठीक । त्यसकारण घरको बाहेक बाहिरको खाना खाने वाध्यतावश मात्र । केही काम विशेषले घर बाहिर गएको बेला त बाँच्नको लागि खानै पर्यो । नत्र सकेसम्म होटलको नखाने विचारमा छ यो ज्यान । त्यसकारण पनि घरमै श्रीमतीले पकाएको मीठो र स्थानीय अर्गानिक उत्पादन खाना छोडेर अन्यत्र सरुवा भै जाने सम्भावना शुन्य प्रतिशत नै छ । अहिले त सरुवा हुन्छु भनेर पनि पाइदैन । कानुनै त्यस्तै छन् ।
कुरा रह्यो बढुवाको । शिक्षा सेवातिर अधिकृत भएको नै १३ बर्ष ७ महिना २२ दिन भो । अंझै ५।६ बर्ष बढुवा हुन्न होला । सकेसम्म त्यो हुदैन होला । लोकसेवा पढेर एक फ्लाईट उफ्र उक्लिने सम्भावना पनि वेल्कुल छैन । ४७ बर्ष पुगेपछि पनि त्यै लोकसेवा पढ्ने कुरा पनि भैन । संघीय कानुनहरु कस्ता आउंछन ! स्थानीयको जागिर कस्तो हुन्छ ! त्यसमा विचार विमर्श गन्थन मन्थन गर्दै अगाडी बढ्नुपर्ने अवस्था छ । पाएको जिम्मेवारी सकेसम्म सकारात्मक उद्देश्यकासाथ पुरा गर्ने । सबैसंगको सम्बन्धलाई कुशलमंगल सकुशल बनाउन आफ्नोतर्फबाट हरदम प्रयास प्रयत्न गर्ने । जानीजानी कसैप्रति द्वैष, ईष्या, वैरभाव, कुविचार, कुनियत नराख्ने । कसैको कुभलो नचिताउने । सबैको राम्रो होस भन्ने पवित्र भावना राख्ने । आफुले गर्न नसकिएका, कानुनले नमिल्ने विषयहरु र तिव्र विवादका विषयहरु गर्न सकिदैन हजुर भनी विनम्रतापुर्वक दुई हात जोडेर आत्मसमर्पण गर्ने विधि नै अवको जागिरी टिकाउने तरीका, शैली, वाध्यता, विवशता, आवश्यकता, अनिवार्यता र समयको माग हो । त्यति गर्दागर्दै पनि १ पटक होइन, २ पटक होइन, ३ पटक होइन, ४ पटकसम्म पनि लगातार अवच्छिन्न एकोहोरो आक्रमणमा उत्रिन्छ कोही भने त्यसको सशक्त प्रतिकार गरी आत्मरक्षा गर्ने । आत्मरक्षा गर्दा पनि निरन्तर आक्रमण भै रहन्छ भने । ज्यान जाला बरु आफुले अरुलाई आक्रमण गर्ने, जिस्क्याउने, चियोचर्चो गर्ने, उछितो काड्ने, पछि लाग्ने विक्कुल नगर्ने । अरुको पछि मरीगए नलाग्ने पुर्ववत सिद्धान्त कडाइपुर्वक अंगिकार गर्ने । यति गर्दागर्दै पनि लगातार अविच्छिन्न निरन्तर आफ्नो पछि लाग्नेलाई कुटनीतिक, रणनीतिक रुपले दिर्घकालीन लक्ष्य उद्देश्यकासाथ ध्वस्त. चकनाचुर र परास्त पार्ने । यही नै अवका बाँकी जागिरे अवधिका मेरा अल्पकालीन र दिर्घकालीन Open Secrete Strategy हुन् ।
स्वास्थ्यमा ध्यान दिनुपर्ने अनिवार्यता छ । जतापायो उतै खाने । जतापायो उतै जाने । स्वास्थ्य अवस्था पनि छैन । व्यक्तिगत रुची पनि छैन । सानो गाडीमा भमिट हुन्छ । बाईकमा फुईफुई चिसो सिरेटो हुन्छ । हिजोका दिनजस्तो रुकुमबाट दाङ्ग, नेपालगंज, काठमान्डौसम्मै आफै बाइक चलाएर जान सक्ने अवस्था छैन । अनि हिडेर काँ जानु ! त्यसलै सामान्य रुपमा, सहज रुपमा, सकेसम्म विवादमा नपरेर, सकेसम्म सबैसंगको सहकार्य, समन्वय, सहमतीमा रहेर, नियम, कानुन, प्रकिया, पद्धतीको सीमा रेखामा रहेर सहजरुपमा आफ्ना जिम्माका कामहरु गर्दै अबका बाँकी जागिरीका खुट्किलाहरु पनि स्थानीय घरपायकमै वित्ने देखिन्छ । संघियता उल्टी पल्टी उछिट्टी विछिट्टी जरोबुटो उम्की उत्तानाटाङ्ग लागी व्यवस्था नै तलमाथी भई प्राप्त उपलब्धी सहित सबै चिजहरु तितर वितर भइयो भने फरक कुरा नत्र अंझै ५।७ बर्ष स्थानीयमै वित्ने सम्भावना छ । ५।७ बर्षपछि कर्मचारी समायोजन ऐन, २०७५ का प्रावधान बमोजिम र अव आउने संघिय निजामती सेवा ऐनले अन्तरसेवा बढुवा प्रणाली मार्फत केही अग्रगामी प्रावधान आएर बढुवा भई संघीय सेवामा पुन:स्थापित हुन सकियो भने ५।७ बर्ष संघीय निजामती सेवामा खत्राङ्गखुत्रुङ्ग गरेर जागिरीबाट निवृत्त हुने मोटामोटी योजना रहेको छ । आजलाई यत्तिकै अस्थगित गरौँ । २०७९ चैत्र १० गते शुक्रबार ।
लेखक खड्का मुसिकोट नगरपालिका रुकुम पश्चिमको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।