मुसिकोट । रीना–कालीमाया घटनाप्रति रुकुम पश्चिममा क्रियाशील मानवअधिकार र महिला अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरुको ध्यानाकर्षण भएको छ। जिल्लामा कार्यरत आधा दर्जनभन्दा बढी संघसंस्थाका प्रतिनिधिद्वारा शुक्रबार संयुक्त रुपमा सार्वजनिक गरिएको ध्यानाकर्षणपत्रमा कुनैपनि बालबालिकामाथि त्यसप्रकारको घटना हुनु मानव अधिकारको घोर उल्लंघन हो भनिएको छ।
ध्यानाकर्षणपत्र मार्फत् आगामी दिनहरुमा यस्ता प्रकृतिका घटना हुन नदिन जिल्लास्थित सबै सरोकारवाला निकायहरुलाई समयमा नै सचेत रहन आव्हान समेत गरिएको छ। घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाई पत्ता लगाई कडाभन्दा कडा कारवाहीका लागि रुकुमपश्चिम जिल्लामा क्रियाशील मानवअधिकार र महिला अधिकारका क्षेत्रमा काम गर्ने विभन्न संघसंस्थाहरुको तर्फबाट जोडदार माग समेत गरिएको छ।
महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष ब्यूँझना पुन देवकोटा, मावअधिकार सञ्जालका सदस्य गणेश हमाल, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, महिला पुनर्स्थापना केन्द्र (ओरेक) की संयोजक दीपा धिताल, हरप्लेस नेपालकी अध्यक्ष सुनिता बुढामगर, अनौपचारिक सेवा केन्द्र (इन्सेक) की प्रतिनिधि मनिसा केसी, रुकुमेली समाज विकास केन्द्रका सचिव केशनकुमार क्षेत्रियाल र बालविवाह विरुद्धको साझा अभियानकी सदस्य माया बोहराद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र शुक्रबार नै सार्वजनिक गरिएको हो।
