मुसिकोट । २०५२ फागुन १ गते देखि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो । फागुन १५ गते रुकुम पश्चिमको मेलगैरीमा राज्य पक्षबाट ठुलो सामुहिक हत्याकाण्ड मेलगैरी हत्याकाण्ड भयो । ६ जनाको एकै ठाउँमा हत्या गरियो । जिपु गाउँका अधिकांसलाई प्रहरीले पक्राउ गरेर सदरमुकाम खंलगा ल्यायो ।
केहिलाई जिपुमै रहेको प्रहरीचौकीमा उपस्थित हुन भनेर छोडियो । त्यो मध्यकी एक हुनुहुन्छ बाँफिकोट गाउँपालिका– २ की मंगली खत्री । मेलगैरी हत्याकाण्ड पछि गाउँमा प्रहरीको ज्यादति निकै बढेको थियो । खंगली खत्री लगायत महिलाहरुलाई राज्य पक्षबाट विभिन्न बाहानामा याताना दिन थाले पछि जिपु गाउँबाट धेरै महिला माओवादीमा लागेर जनयुद्धमा होमिएका थिए । मंगली खत्रीले द्धन्द्धको समयमा धेरै पिडा भोग्नु पर्यो । जेठा छोरा कविराम खत्री पनि युद्धमा लाग्नुभयो । उहाँलाई तत्कालिन शाही नेपाली सेनाले रोल्पाको पाछावाङमा मार्यो । मंगली आफै ५ वर्ष लुकेर बस्न पर्यो । “जेठो छोरालाई ठुलो वकिल बनाउने चाहाना थियो । माओवादीमा लाग्यो । सेनाले मारिदियो ।” मंगलीले भन्नुभयो । “अहिले सत्तामा पुगेकाहरुलाई हाम्रा सन्तान र हामिले जनयुद्धमा ठुलो योगदान गरेका हौ । हाम्रे कारण उनीहरु अहिले सत्तामा पुगेका छन् । तर अहिले हामिले केहि पाएनौ ।”–खत्रीले भन्नुभयो । जनयुद्धमा होमिएका र द्धन्द्धको कारण पिडित भएका महिलाहरुले शान्ति स्थापना भएको लामो समय भैसक्दा पनि न्याय र राहातको महसुस गर्न नसकेको बताउछन् ।
मंगली खत्री जस्तै रुकुममा जनयुद्धको समयमा पुर्णकालिन माओवादी कार्यकर्ता, जनमुक्ति सेना भएर काम गरेका महिलाहरु धेरै हुनुहुन्छ । त्यस्तै श्रीमान र छोरा छोरी माओवादीमा लागेको आरोपमा राज्य पक्षबाट यातना पाएका महिलाहरुको संख्या पनि रुकुम पश्चिममा धेरै छ । महिलाहरुले द्धन्दको समयमा भएका घटनाको कारण अहिले पनि पिडा हुने गरेको बताउछन् । द्धन्द्ध प्रभावित महिलाहरुको लागि जिल्लाका खासै कुनै कार्यक्रम, निति, योजना नभएको बाँफिकोट गाउँपालिका वडा नम्वर २ की निर्मला केसीको भनाई छ । “द्धन्द्धको समयमा कति महिला यौन हिंसाका घटनामा पर्नु भयो । हामिले त्यस्ता समस्या राख्ने कुनै निकाय छैन । द्धन्द्धको समयमा यौन हिंसा भएका महिलाको बारेमा कसले चासो दिने ?” केसीले प्रश्न गर्नुभयो–“हामिलाई न्याय कसले दिने ? सहिद, घाईते, अपाङ्गहरुको क्षेत्रमा पालिका सरकार र अन्य निकायले केहि काम गरेको भए पनि द्धन्द्ध प्राभावित महिलाको क्षेत्रमा कसैले प्रभावकारी काम नगरेको त्रिवेणी गाउँपालिका– ३ की टिका ओलीलेको भनाई छ । “द्धन्द्ध पिडित महिलाको लागि भनेर स्थानीय सरकारले पनि केहि गर्न सकेन । हामिले हाम्रा पिडा कहाँ सुनाउने ? कसलाई सुनाउने ? ति दिन सम्झेर मन भक्कानिएर आउछ ।” ओलीले भन्नुभयो–“अहिले हामिलाई व्यवास्था गर्दा सवैको न्यायको आश मर्दै गएको छ ।” त्रिवेणी गाउँपालिका– ३ कै गीता राना द्धन्द्धको समयको कुरा गर्दा उहाँको बोली फुट्दैन । ति कुरा सम्झेर भावुक हुने रानाको मुखबाट कुनै शव्दनै आउदैन । द्धन्द्धको समयमा पाएका पिडाको कारण रानामा बोल्न सक्ने क्षेमता हराएको छ । ति घटनाले उहाँलाई पिरोली रहन्छ । पुनस्थापना, राहात, क्षेमता अभिवृद्धिका लागि कुनै निकायले प्रभावकारी काम गर्न नसकेको द्धन्द्ध पिडित महिलाहरुको गुनासो छ ।
द्धन्द्ध पिडित महिलाहरुको समस्याको विषयमा भने स्थानीय सरकारले प्रभावकारी ढङ्गले काम गरेको छ भन्ने जवाफ पालिका सरकारहरुको आउछ । मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले द्धन्द्ध प्रभावित महिलाहरुको लागि विभिन्न निकायसंग मिलेर स्थानीय सरकारले काम गरेको बताउनुहुन्छ । “द्धन्द्ध प्रभावित महिलाहरुको क्षेत्रमा नगरपालिकाले सक्दो काम गरेको छ । हामिले ल्याउने निति तथा कार्यक्रममा द्धन्द्ध प्रभावितहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु ल्याएका छौ ।” नगर प्रमुख केसीले भन्नुभयो ।
संविधानले व्यवस्था गरेका केहि विषयहरु कार्यन्वयन गर्न केहि समस्या हुने गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीको भनाई छ । “द्धन्द्ध प्रभावित महिलाहरुको लागि यो गर्न पर्छ है भनेर संविधानले भनेको छ । तर त्यो अपुग पनि हुदो रैछ । हामि फरक ढङ्गले गएर द्धन्द्ध प्रभावित महिलाहरुको समस्या, पिडा बुझ्नु पर्ने रैछ ।” अध्यक्ष केसीले भन्नुभयो । द्धन्द्धको समयमा भएका महिला हिंसाका घटना र पिडित महिलाको विषयमा पालिकाको वडा स्तरबाट कार्यक्रम, निति तथा योजना वनाउनु पर्ने उहाँको तर्क छ ।