मुसिकोट । रुकुम पश्चिमको सातौं जिल्ला सभा सम्पन्न भएको छ । आज मुसिकोट खलंगामा सम्पन्न जिल्ला सभाले आगामी वर्षका लागि विभिन्न नीति तथा कार्यक्रमहरु पास गरेको छ ।
प्राथमिकरण गरेर विषयगत रुपमा नीति तथा कार्यक्रमहरु जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सभामा पेश गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रम परिमार्जन सहित सभाले पास गरेको जनाइएको छ ।
सभामा पेश भएको नीति तथा कार्यक्रममा जिल्ला सभाका सदस्यहरुले आफ्नो धारणा सहित सुझावहरु राखेका थिए । उक्त सुझावलाई समेटेर नीति तथा कार्यक्रमलाई पूर्णता दिइने जिल्ला समन्वय समिति प्रमुख गौतमले बताउनुभयो ।
सभाले रोजगारी सृजना र गरीबी निवारण, पर्यटन तथा संस्कृति क्षेत्रको विकास र प्रवद्र्धन, सामाजिक सुरक्षा, उत्पीडित एवं कमजोर वर्गको सशक्तिकरण, महिला, बालबालिका र जेष्ठ नागरिक, युवा तथा खेलकुद, सार्वजनिक सेवा र विकास मार्फत सुशासन प्रवद्र्धन र अनुगमन, मुल्यांकन, समन्वय र सहजिकरण तर्फ पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रम बनाइएको जिसस प्रमुख गौतमको भनाई छ ।
जिसस प्रमुख गौतमको अध्यक्षतामा भएको सभामा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कल्याणी खड्काको विशेष आतिथ्यता रहेको थियो ।
जिसस उपप्रमुख देवबहादुर विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन निमित्त जिसस अधिकारी जितबहादुर ओलीले गर्नुभएको थियो ।
त्यस्तै जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, समन्वय समितिका सदस्य, प्रमुख जिल्ला अधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।