स्थानीय उद्योगलाई प्रोत्साहन गर्न डोको बुन्ने प्रतियोगिता

स्थानीय उद्योगलाई प्रोत्साहन गर्न डोको बुन्ने प्रतियोगिता

झिमरुक गाउँपालिका –५ ओखरकोटमा राखिएको डोकोबुन्ने प्रतियोगिता । तस्बिर : बिमलप्रसाद पोख्रेल

नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोकोबुन्ने प्रतियोगिता सम्पन भएकोछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने हेतुले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको छ । जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले  तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गर्नुभयो । स्थानीय उत्पादन बाँसको सदुपयोग गर्ने उद्देश्यले यसअघि पनि चैत्त २४ गतेदेखि एक हप्ता चोयाचित्रबाट विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गरिएको थियो।

तालिममा बाह्र जना सहभागी थिए । तालिम ४५ दिनसम्म सञ्चालन भएको थियो । सहभागी तालिमका क्रममा डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकि, प्रिङगो, ढडिया, मुडा, स्टुल बेन्च टेबुल, चिया बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्रहरु बनाउन सफल भएका छन्।

तालिमका प्रमुख प्रशिक्षक धनकुटा निवासी तुलमान राईले तालिम दिनुभएको थियो । उहाँका अनुसार ओखरकोटमा रहेका बाँसले सिङ्गो नेपाललाई पुग्ने सामग्री उत्पादन गर्न सकिने उहाँको भनाइ छ । तालिममा स्थानीयहरुले निकै चासो दिएर सामग्री निमार्ण गरी आम्दानी गर्न थालेको राईले बताउनुभयो ।

डोको बुन्ने प्रतियोगितामा स्थानीय आठ जनाले सहभागीता जनाएका थिए । ५० वर्षीय रामबहादुर बिकले ५९ मिनेटमै ९५ डिग्रिको कोणमा १८ ईन्च गोलाईमा १८ ईन्च डायमिटरको डोको तयार पार्नुभयो । त्यस्तै सोही साईजमा ६५ मिनेटमा डोको तयार पारी स्थानीय अर्जुन बिक दोस्रो र गंगाबहादुर सुनारले आकर्षक डोको तयार गरी तेस्रो स्थान जित्न सफल हुनुभएको छ ।

प्रतियोगिले प्रथम पुरस्कार बापत तीन हजार नगद, दोस्रोका लागि दुई हजार नगद र तेस्रो हुनेका लागि एक हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । डोको बुन्ने प्रतियोगितामा भागलिने सहभागी सबैलाई ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदिप जिसिले नगद पाँच सयका दरले पुरस्कार उपलब्ध गराउनुभयो ।

लोकनृत्यतर्फ चौध जनाले सहभागिता जनाएका छन् । त्यसमा पनि प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । गोरखापत्र अनलाइनबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार