मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा अत्याधुनिक रंगशाला निर्माण अलपत्र परेको छ । बजेट अभावको कारण निर्माण रोकिएको मुसीकोट नगरपालिकाले जनाएको छ ।
२०७६ सालमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएर त्यसको दोस्रो वर्ष २०७७/०७८ देखि काम थालिएको यो रंगशाला निर्माणको काम पछिल्लो वर्षमा अघि बढ्न सकेको छैन ।
नगरपालिकाका इन्जिनियर पहल बहादुर पुनका अनुसार डीपीआर अनुसार २८ करोड १० लाखको लागत इस्टिमेट गरिएकोमा पहिलो वर्ष करिब ८७ लाख खर्च गरिएको थियो । ‘संघीय सरकारअन्तर्गतको यो आयोजनामा पहिलो वर्षपछि बजेट नै आउन सकेन,’ उहाँले भन्नुभयो, ‘यसको डीपीआर गर्नका लागि नै १३ लाख ४४ हजार खर्च भएको छ ।
निर्माणाधीन रंगशालाले गति लिनुपर्ने मुसीकोट–३ का अध्यक्ष दशरथ केसीले बताउनु भयो। जिल्लाको गौरवका आयोजनाका रूपमा यसलाई अघि बढाउनुपर्ने उहाँको जोड छ । ‘
रंगशालामा अहिलेसम्म जमिन खन्ने, आरसीसी गर्ने र ग्याबियन गारोको काम मात्रै भएको छ ।