स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
सात दिनसम्म आइसोलेसनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।
मन्त्रालयले आइसोलेसनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । मंगलबार एक सय ७१ जनामा सङ्क्रमण, दुई जनाको निधन र तीन सय ९७ जना सङ्क्रिय सङ्क्रमित पुगेका छन् ।