सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मनाउने भएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्ने गरिन्छ । “सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्ने गरिन्छ”, उहाँले थप्नुभयो, “सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।”सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो । दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आइसिटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            