जिल्ला सदरमुकाममा एक हप्तादेखि खानेपानीको अभाव

जिल्ला सदरमुकाममा एक हप्तादेखि खानेपानीको अभाव

मुसिकोट । गर्मी बढेसँगै खानेपानी व्यवस्थापनमा आएको समस्याको कारण रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा खानेपानीको अभाव भएको छ । मुसिकोटको खलंगा बजार, कारागार लगायतका बजारक्षेत्रमा खानेपानीको अभाव सिर्जना भएको हो ।

खानेपानीको समस्या भएपछि बिद्यार्थी, कर्मचारी, व्यापारी र सर्वसाधारणहरुलाई समस्या भएको छ । जिल्ला कारागारमा समेत यसको प्रयत्क्ष मार परेको बताईएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदि बन्दीहरुलाई थप समस्या भएको छ । पीउने पानी, शौचालयको प्रयोग र सरसफाईको लागि पानीको अभाव हुँदा छिमेकी घरहरुबाट सहयोग मागेर समस्या टार्ने गरिएको निमित्त प्रजिअ बढुवालले जानकारी दिनुभयो ।

कारागारमा पानीको समस्या नहोस् भने मुहानबाट सिधा लाईन जोडिएको तर गर्मिबढेसँगै पानीका मुहान सुक्न थालेपछि समस्या सिर्जना भएको हो ।

स्थानीयले हप्तादिन यता घरमा जोडिएको खानेपानीको पाईपमा पानी आउन छोडेको जानकारी दिएका छन् । खानेपानीको अभाव भएपछि सहिद मैदान र टटेलामा रहेका धारामा पुगेर पानी बोक्न बाध्य भएको स्थानीयको भनाई रहेको छ ।

सदरमुकाममा खानेपानी वितरण गर्दै आईरहेको मुसीकोट खलङगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मुख्य पाईपलाईनमा समस्या आएकोले पानी आपूर्ति हुन नसकेको जनाएको छ । संस्थाका महासचिव महेन्द्र गौतमका अनुसार जिल्ला हुलाक कार्यालय नजिकै बाटो र घर निर्माण गरिरहेकाहरुले बारम्बार माटो फालिदिने गरेकोले पाईप भाँचिएको छ ।

जसको कारण मुसीकोटको खलङगा बजार, कारागार, सेरिगाउँ, सल्ले पिपलनेटा, रावलबारा, ढांगीचौर, मठ लगायतका क्षेत्रमा खानेपानीको समस्या देखा परेको हो । एकिकृत कार्यालय भवन निर्माण, सडक निर्माण र केहि व्यक्तिका घरहर बनाउने क्रममा जथाभाबि माटो फालिएपछि खानेपानीको पाईप लाईनमा क्षति पुगेको हो ।

महासचिव गौतमले पाईप मर्मतको सामाग्री काठमाडौंबाट ल्याउनुपर्ने भएकोले ढिलाई भएको जनाउनुभयो । समस्याको तत्काल समाधातर्फ संस्था लागिरहेको उहाँको भनाई छ । संस्थाले मुसिकोटका एक हजार ५६ घरधुरीमा खानेपानी वितरण गर्दै आईरहेको छ ।

हरेक वर्ष गर्मियामसँगै खानेपानी वितरणमा समस्या हुने गरेको छ । मुहानमा पानीमो मात्रा कम हुने, व्यवस्थापनमा उल्लेख्य चासो नहुने हुँदा बेला बेला खानेपानीको समस्या भोग्ने गरेको स्थानीयको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार