प्रपञ्चित प्रपञ्चका
सिमली भुवामा चढेर
विजयको लश्कर
झुट्टा पुलिन्दाको
सहनाई र पञ्चे बाजा सहित
ए साँइली ! आउँदै छ है ।
बडेमानका आश्वासनका
गुन्टाहरूको भारी छाँदेर
वर्षौं हराएको
आशाको लाहुरे
मिठा र रसिला ‘क्या नाम’
फुलबुट्टे लोलीका साथ
‘चुईंचुईं चुइकने जुत्ता’ गाउँदै
गल्ला चलाउने झै
समयको सारथि बन्दै
कोही आफ्नो र आफन्त भन्दै
बहुरुपी गाउँ पस्दै छ
ए साँइला ! चुपचाप डस्दै छ ।
औरेनी-बौरेनी गरेर
धुपको आगोमा
हामफालेका पुतलीको
शहादतमा मौन धारण धरेर
यसपालाको शहिद दिवस मनाएका छौं ।
शहरले चिन्ने छाडेको
गाउँको एक्लो घरको
तिथ्रिकोको आवाजले
अचेल मौनतालाई चिरेर
जिउँदो भएको प्रमाण खोज्नुपर्ने
आधुनिकता र पलायनको
नव औपनवेशिक परिस्थितिका
स्वेच्छाका दासहरूको बस्तीले
रंग बिरंगका कथा हाल्छन्
ए हजुरआमा ! सुनाउनुहोस् न ।
नरेन्द्रकुमार राना