कांग्रेसको सदस्यता अब अनलाइनबाटै

कांग्रेसको सदस्यता अब अनलाइनबाटै

नेपाली कांग्रेसले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई डिजिटल प्रणालीमा लैजाने भएको छ । कांग्रेसले सदस्यतासम्बन्धी सम्पूर्ण काम डिजिटल प्रविधिको प्रयोगबाट गर्न लागेको हो ।

वेभसाइटमार्फत अनलाइन सदस्यता वितरण नै थालिसकेको कांग्रेसले बिहीबार देशभरिबाट जिल्ला सभापतिहरूलाई काठमाडौंमा भेला गरेर त्यसबारे प्रशिक्षणसमेत गर्‍यो । भेलामा जिल्ला सभापतिहरूले अनलाइनबाट सदस्यता वितरण हुन थालेपछि पार्टीप्रति आकर्षण बढ्ने आँकलनसमेत व्यक्त गरेका छन् ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई पार्टीले पूर्णरुपमा डिजिटल प्रविधिमा लैजान लागेको बताए । ‘सदस्यतालाई पूर्णरुपमा अनलाइनबाट गर्ने गरी तयारी भएको छ । केन्द्रीय समितिको निर्णयबमोजिम महामन्त्रीहरूले यसको नेतृत्व गर्नुभएको छ,’ उनले भने, ‘अब विगतको जस्तो सदस्यता पाउनै बन्देज हुने अवस्था हुँदैन । घरै बसिबसी सदस्यता पाइने र पार्टीको सदस्यता कार्डसमेत उपलब्ध हुने व्यवस्था भएको छ । हरेक वर्ष नवीकरणलाई अनिवार्य गरिएको छ ।’

१४ औँ महाधिवेशनकालागि कांग्रेसले करिब डेढ वर्ष लगाएर सदस्यताको टुंगो लगाएको थियो । सदस्यता विवादकै कारण १६ जिल्लाले केन्द्रीय महाधिवेशन सकिएपछि मात्रै जिल्ला अधिवेशन गर्न भ्याएका थिए । जसअनुसार हाल कांग्रेसका ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य छन् ।

विधानअनुसार अब कांग्रेसका दुई खाले सदस्य हुन्छन् । पहिलो, साधारण सदस्य र अर्को क्रियाशील सदस्य । पार्टीको महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । साधारण सदस्य भएको दुई वर्षपछि मात्रै क्रियाशील सदस्य बनाउने विधानको व्यवस्था छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार